६ दलीय संघर्ष समितिमा हाम्रो संलग्नता छैन : माओवादी - Chaitanya News
  • 2026-11-17
  • 05:07:29
  • सोमबार,मंसिर ०१, २०८३
  • ६ दलीय संघर्ष समितिमा हाम्रो संलग्नता छैन : माओवादी

    ६ दलीय संघर्ष समितिमा हाम्रो संलग्नता छैन : माओवादी

    रौतहट– नेकपा (माओवादी केन्द्र) ले ६ दलीय संघर्ष समितिमा आफ्नो संलग्नता नरहेको बताएको छ। आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै ६ दलीय समितिमा आफ्नो संलग्नता नरहने जानकारी गराए। गौर हत्याकाण्डको छानबिनको विषयलाई लिएर सो काण्ड पीडित संघर्ष समितिले उठाएका मागविरुद्ध गठन भएको संघर्ष समितिमा आफ्नो कुनै संलग्नता नरहेको माओवादी केन्द्रले प्रष्ट पारेको हो।

    हत्याकाण्डको छानबिनको विषयलाई लिएर आम जनता पार्टीले उठाएको मागविरुद्ध गठन भएको ६ राजनीतिक पार्टीको संघर्ष समितिमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ।

    ‘आजभन्दा १७ वर्ष अगाडि भएको अमानवीय र कुर गौरहत्या काण्डको विषयलाई लिएर केही दिनदेखि रौतहटको गौरमा भइरहेको ६ दलीय संघर्ष समितिको नाममा धर्ना, जुलुस, विज्ञप्ति र ज्ञापनपत्रको दोहोरी चलिरहेको छ, त्यो आन्दोलनमा माओवादी केन्द्रको कुनै संलग्नता छैन’ माओवादी केन्द्र रौतहटका इन्चार्ज युवराज भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

    माओवादी आन्दोलनले शान्तिपूर्ण राजनीतिक बाटो समातेपछि सबैभन्दा ठूलो कार्यकर्ताको क्षति व्यहोरेको अमानवीय र निन्दनीय सो घटनाका दोषीलाई हदैसम्मको कानुनी कारबाही हुनुपर्ने माग समेत विज्ञप्तिमा गरिएको छ।

    प्रभु साह नेतृत्वको आम जनता पार्टीले गौर घटनाका दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै संघर्ष समिति गठन गरेको छ। सो समितिले विरोध प्रदर्शन थालेपछि जसपाले सत्ताधारी दललाई समेटेर आम जनता पार्टीविरुद्ध अर्को संघर्ष समिति बनाएर विरोध गरिरहेको छ।