नयाँ आर्थिक वर्ष पहिलो १० दिनमा खर्चभन्दा आम्दानी २ अर्बले बढी - Chaitanya News
  • 2026-05-26
  • 10:39:30
  • मंगलबार,जेठ १२, २०८३
  • नयाँ आर्थिक वर्ष पहिलो १० दिनमा खर्चभन्दा आम्दानी २ अर्बले बढी

    नयाँ आर्थिक वर्ष पहिलो १० दिनमा खर्चभन्दा आम्दानी २ अर्बले बढी

    काठमाडौँ– नयाँ आर्थिक वर्ष (आव) २०८०– ८१ को पहिलो १० दिनमा सरकारको खर्चभन्दा आम्दानी २ अर्बको बढी छ।

    साउन १० गते सम्म सरकारले राजस्व र अन्य आम्दानीबाट १४ अर्ब ५५ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अवधिमा खर्च भने १२ अर्ब ६४ करोड ६४ लाख रुपैयाँ भइसकेको छ।

    यो अवधिमा राजस्वबाट सरकारले १० अर्ब ९६ करोड रुपैयाँ आम्दानी गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। अन्य आम्दानी ३ अर्ब ५८ करोड रुपैयाँ भएको देखिन्छ।

    खर्चतर्फ १० दिनमा चालु प्रकृतिको खर्च ५३ करोड ६४ लाख रुपैयाँ भएको छ। पुँजीगत खर्च अझै सुरु भइसकेको छैन।

    वित्तीय व्यवस्थामा भने सुरुवातमै १२ अर्ब ११ करोड रुपैयाँ खर्च भइसकेको छ। यो कुल लक्ष्यको ३.६६ प्रतिशत खर्च हो।

    चालु आवमा सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ।

    अर्थ मन्त्रालयले यस वर्ष बजेट कार्यान्वयन बनाउन भन्दै मन्त्रालयहरूलाई तोकिएको समय सीमाभित्र बजेट खर्च गर्न निर्देशन दिइसकेको छ।

    अर्थले कात्तिक मसान्तभित्र ठेक्का प्रक्रिया सम्पन्न गरी त्यसको १५ दिन भित्र काम सुरु गर्न भनेको छ।

    अर्थ मन्त्री डा. प्रकाशशरण महतले काम सम्पन्न भएर भुक्तानीका लागि आएका बिल अर्थबाट बढीमा १५ दिन भित्र पास गरी पठाइने प्रतिबद्धता व्यक्त गरेका छन्। यस पटक असारे खर्च हुन नदिने उनको प्रतिबद्धता छ।