जनकपुरधाम– गौर हत्याकाण्डमा संलग्न रहेको भन्दै आम जनता पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहलाई पक्राउ गर्न विभिन्न ६ दलले माग गरेका छन्।
साहलाई पक्राउ गर्न दबाब दिने उद्देश्यले पूर्व प्रदेश सांसद रामसागर यादवको नेतृत्वमा २१ सदस्यीय समिति बनेको छ। उक्त समितिमा जसपा नेपाल, जनमत, लोसपा, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र नेपाली कांग्रेसका नेता कार्यकर्ता छन्।
समितिले आज गौरमा अध्यक्ष साहविरुद्ध प्रदर्शन पनि गरेको छ। उनीहरुले हिन्दुवादी नेता काशीनाथ तिवारी, अन्तर्राष्ट्रिय कुस्ती खेलाडी उपेन्द्र दास बैरागी र शिक्षक सुनिल यादवको हत्यामा संलग्न रहेको भन्दै प्रभु साहलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेका छन्।
यसअघि साउन १ गते १७ वर्षअघि भएको गौर हत्याकाण्डमा संलग्नहरुलाई कारबाहीको माग गर्दै गौर हत्याकाण्ड संघर्ष समितिले रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै सो हत्याकाण्डको फाइल खोल्न माग गरेका थिए।
रुपसागर देवीको संयोजकत्वमा गठित समितिले २०६४ चैत ७ मा भएको गौर हत्याकाण्डका मुख्य दोषी जसपा अध्यक्ष उपेन्द्र यादव रहेको दाबी गर्दै दोषीहरूमाथि कारबाही गरेर न्याय दिन संघर्षका कार्यक्रम सार्वजनिक गरेको थियो।
उनीहरुले साउन १४ सम्म माग पुरा नगरे साउन १५ बाट अनिश्चितकालीन रौतहट बन्द गर्ने चेतावनीसहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।
२०६३ चैत ७ गते तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीबीच सदरमुकाम गौरमा झडप हुँदा माओवादीका २७ कार्यकर्ताले ज्यान गुमाएका थिए। मधेसी जनअधिकार फोरमले शान्तिपूर्ण कार्यक्रम गर्न लाग्दा माओवादीले बिथोलेर द्वन्द्व निम्त्याएको र फोरमको कार्यक्रम बिथोल्ने नेतृत्व प्रभु साहले गरेको गठबन्धनको ठहर छ।