चन्द्र भण्डारीले भने : कांग्रेसको नेतृत्व उपसभापति र महामन्त्रीहरूले लिनुपर्छ - Chaitanya News
  • 2026-11-17
  • 02:05:50
  • सोमबार,मंसिर ०१, २०८३
  • चन्द्र भण्डारीले भने : कांग्रेसको नेतृत्व उपसभापति र महामन्त्रीहरूले लिनुपर्छ

    चन्द्र भण्डारीले भने : कांग्रेसको नेतृत्व उपसभापति र महामन्त्रीहरूले लिनुपर्छ

    काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रकान्त भण्डारीले कांग्रेसको नेतृत्व उपसभापति र माहामन्त्रीले लिनुपर्ने बताएका छन। आज ( मंगलबार) काठमाडौंमा आयोजित वर्तमान राजनितिक चुनौतिहरु र नेपाली कांग्रेसको दायित्व विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले विगतमा संस्थापन इतर समूहबाट निर्वाचित भएका उपसभापति र महामन्त्रीहरू सामूहिक रूपमा अगाडि बढ्नुपर्ने बताएका छन।

    सदस्य भण्डारीले उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायतका नेताहरू सामूहिक रूपमा अगाडि बढाउनुपर्ने बताएका हु्न। उनले पार्टी सभापति शेरबहादुर देउवा ८० वर्ष पुग्न लागेको भन्दै अब पार्टीको नेतृत्व उपसभापति र महामन्त्रीहरूले लिनुपर्ने बताए।

    उनले भने ‘तपाईँहरू उपसभापति बन्नुभयो, महामन्त्री बन्नुभयो। अहिलेसम्म तपाईँहरू सँगै बसेर पार्टी सभापतिसँग यो गर्नुपर्छ भन्नुभएको छ कि छैन? हामीले यो टिम बनाउँदा चाहे शेरबहादुरजी होस्, चाहे रामचन्द्रजी होस्, चाहे कृष्ण सिटौला होस्, चाहे शेखर कोइराला होस्, हामी सबै सँगै बसेर यो टिमले कति राम्रो काम गरेको थियो। आज भाषण गर्ने, बोल्ने, कुरा गर्ने तर सँगै बसेर संयुक्तरूपले झगडा नगर्दा यो भनाइ खाइरहनुपरेको छ। त्यस कारण म सुझाव दिन चाहन्छु तपाईँहरूले टिम बनाउनुस्। समयले तपाईँ युवाहरूको स्वागत गर्नका लागि पर्खिरहेको छ ।पार्टी सभापति शेरबहादुरजी ८० वर्ष पुग्न थाल्नुभएको छ। जोस–जाँगर भएका उपसभापति र महामन्त्री हुनुहुन्छ, अब उहाँहरूले नेतृत्व लिनुपर्‍यो। तपाईँहरू अबदेखि सँगै हिँड्नुस्। मिटिङ राख्नुस्। एजेन्डा तयार गर्नुस्। तबमात्रै कांग्रेस बन्छ। एक्लै कहीँ पुग्न सकिदैँन।

    भण्डारीले उपसभापति र महामन्त्रीहरूका बीचमा बैठक राख्ने र एजेन्डा तय गरेर सँगै हिँड्न पनि आग्रह गरे। उनले केन्द्रीय समितिमा संस्थापन इतर समूहका नेताहरूलाई थप्न नसकेको भन्दै आफ्ना समूहका साथीहरूलाई सदस्य बनाउन नसक्नेले अरूको प्रतिनिधित्व गर्न नसक्ने बताए।