काठमाडौं – चिनियाँ प्रतिनिधिमण्डल नेपाल भ्रमणमा छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विदेश भ्रमण रहेका बेला चिनियाँ टोली नेपाल भ्रमणमा आएको हो । प्रधानमन्त्रीसँग नेपाल आएर भर्चुअल संवाद गरेको चिनियाँ टोली नेपाली नेताहरुसँग अर्थपूर्ण भेटवार्तामा छ ।
चिनियाँ प्रतिनिधिमण्डलले सरकारको नेतृत्वकर्तादल माओवादी केन्द्रका पदाधिकारीहरूसँग साँझ सामुहिक छलफल नै गरेको छ । द्वारिका होटलमा भएको छलफलमा चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य युआन च्याच्युन नेतृत्वको टोलीले माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोलीसँग छलफल गरेको हो ।
छलफल दुई पार्टीबीचको सम्बन्ध विस्तार गर्ने विषयमा केन्द्रित रहेको नेताहरु बताउँछन् । नेपाल र चीनबीच रहँदै आएको सरकार, पार्टी र जनस्तरको तीन तहको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको नेता वर्षमान पुन बताउँछन् । उनका अनुसार ‘नेपालको सामाजिक आर्थिक विकासमा चीनले निरन्तर सहयोग गर्दै आएको र नेपालले विभिन्न तहमा हुने आदानप्रदान निरन्तर चलिराख्ने विश्वास व्यक्त गरेको छ ।’
युआन च्याच्युनले चिनियाँ कम्युनिस्ट पार्टी नेपालको शान्ति र समृद्धि स्थिरताको लागि पूर्ण सहयोग गर्न तयार रहेको बताए । उनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध सधैँ सुदृढ रहेको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को आगामी दिनमा हुने चीनको भ्रमणले यसलाई अझै सुदृढ बनाउने आशा व्यक्त गरे ।चिनियाँ प्रतिनिधिमण्डलले आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेको थियो ।
यता कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले चीनको यो उपलब्धि प्रेरणाको स्रोत भएको बताएका छन् ।
सँग चीनको कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटी राजनीतिक ब्यूरोका सदस्य युआन च्या च्युनसँग रक्षा मन्त्रालय, सिंहदरबारमा भएको भेटवार्तामा कावा प्रधानमन्त्री खड्काले केही समयअगाडि मात्र जिम्मेवारी पदभार सम्हालेका च्युनलाई बधाई दिँदै उनको कार्यकालमा नेपाल–चीन सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गरे ।
कावा प्रधानमन्त्री खड्काले मित्रराष्ट्र चीनले आर्थिक, सामाजिक एवं प्राविधिक विकासद्वारा समग्र विकासमा प्राप्त गरेको अभूतपूर्व प्रगतिको प्रशंसा गर्दै चीनको यो उपलब्धि नेपालका लागि प्रेरणाको स्रोत हुने विचार व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।
कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको रक्षा सम्बन्ध र सहकार्य सौहार्दपूर्ण एवं घनिष्ठ रही आएको उल्लेख गर्दै चिनियाँ सेनाले नेपाली सेनाको क्षमता अभिवृद्धिमा पु¥याएको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।
भेटमा युआनले यस पटकको नेपाल भ्रमणको प्रमुख उद्देश्य सन् २०१९ मा चीनका राष्ट्रपति सि चिनफिङको भ्रमणका अवसरमा निर्णय भएका विभिन्न आयोजना तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयनलाई सफल बनाउनु रहेको बताए ।
त्यस्तै आज चिनिया नेताहरुले सभापति देउवालाई भेट्ने कार्यक्रम रहेको छ ।