प्रधानमन्त्रीले आज राष्ट्रसंघका महासचिव र बंगलादेशका प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता गर्ने - Chaitanya News
  • 2026-11-17
  • 02:19:03
  • सोमबार,मंसिर ०१, २०८३
  • प्रधानमन्त्रीले आज राष्ट्रसंघका महासचिव र बंगलादेशका प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता गर्ने

    प्रधानमन्त्रीले आज राष्ट्रसंघका महासचिव र बंगलादेशका प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता गर्ने

    काठमाडौं –  इटालीे भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय वार्ता गर्ने भएका छन् ।

    दुवै भेटवार्ता इटालीको राजधानी रोममा आज हुने भियनास्थित नेपाली दूतावासले जनाएको छ ।

    प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघको कार्यक्रमको साइडलाइनमा आज बंगलादेशकी प्रधानमन्त्री र राष्ट्रसंघका महासचिवसँग छुट्टाछुट्टै भेटवार्ता गर्न लागेका हुन् ।

    उनले आज पहिला बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यसपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग भेट हुनेछ ।

    प्रधानमन्त्री प्रचण्ड इटालीमा रहँदा खाद्य तथा कृषि संगठन (एफएओ)का महानिर्देशक, विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)का कार्यकारी निर्देशक र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (एडीआईएफ) कार्यक्रमका अध्यक्षले पनि छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ ।

    प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघ, इटाली सरकार र संयुक्त राष्ट्रसंघको रोममा रहेको खाद्य तथा कृषि संगठनले आयोजना गर्ने खाद्य प्रणालीसम्बन्धी कार्यक्रममा सहभागी हुन शनिबार त्यसतर्फ गएका थिए ।