सुडानमा युद्धरत पक्षहरूबीच झडप हुँदा १६ जनाको मृत्यु - Chaitanya News
  • 2026-11-18
  • 17:40:35
  • बुधबार,मंसिर ०३, २०८३
  • सुडानमा युद्धरत पक्षहरूबीच झडप हुँदा १६ जनाको मृत्यु

    सुडानमा युद्धरत पक्षहरूबीच झडप हुँदा १६ जनाको मृत्यु

    खार्तुम– सुडानको दक्षिणी डार्फरमा युद्धरत पक्षहरूबीच झडप हुँदा १६ जना सर्वसाधारणको मृत्यु भएको छ।

    सुडानको दक्षिणी डार्फर राज्यको राजधानी न्यालामा सुडानी सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ)बीचको बमबारीमा कम्तीमा १६ जना सर्वसाधारणको मृत्यु भएको डार्फर बार एसोसिएसनले जनाएको हो।

    पेशागत वकिलहरूको संगठनले सडक र नागरिकका घरमा गोलीबारी भएको जनाउँदै शुक्रबारदेखिको दोहोरो भिडन्तले न्याला क्षतविक्षत भएको बताएको छ। गोलाबारी र भिडन्तका कारण न्यालाको दक्षिणमा रहेको अल–वोहदा र करारीलगायत क्षेत्र प्रभावित भएका छन्।

    संघले युद्धरत पक्षहरुलाई तत्काल युद्ध बन्द गर्न र सर्वसाधारणलाई आक्रमणको निशाना नबनाउन आग्रह गरेको छ।

    गत अप्रिल १५ देखि खार्तुम र अन्य क्षेत्रमा सुडानी सेना र आरएसएफबीच जारी युद्धमा तीन हजारभन्दा बढीको मृत्यु भएको छ भने छ हजारभन्दा बढी घाइते भएका छन्।

    संयुक्त राष्ट्रसंघको अनुमानअनुसार सुडान द्वन्द्व सुरु भएयता ३० लाखभन्दा बढी विस्थापित भएका छन्।(रासस)