भ्याली भ्यु स्कुलको आयोजनामा सोह्रौँ उपत्यकाव्यापी कविता प्रतियोगिता तथा कला साधना सम्मान कार्यक्रम सम्पन्न - Chaitanya News
  • 2026-11-18
  • 17:40:56
  • बुधबार,मंसिर ०३, २०८३
  • भ्याली भ्यु स्कुलको आयोजनामा सोह्रौँ उपत्यकाव्यापी कविता प्रतियोगिता तथा कला साधना सम्मान कार्यक्रम सम्पन्न

    भ्याली भ्यु स्कुलको आयोजनामा सोह्रौँ उपत्यकाव्यापी कविता प्रतियोगिता तथा कला साधना सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं- भ्याली भ्यु स्कुलको आयोजनामा २१०औं भानु जयन्तीका अवसरमा १६औं उपत्यकाव्यापी कविता प्रतियोगिता तथा स्रष्टा-सम्मान कार्यक्रम सम्पन्न भएको छ।

    भ्याली भ्यु स्कुलका प्राचार्य सुभाषचन्द्र भण्डारीको अध्यक्षता र साहित्यकार वैरागी काइँलाको प्रमुख आतिथ्यमा सञ्चालन भएको उक्त कार्यक्रमका अवसरमा वरिष्ठ कवि तथा साहित्यकार बैरागी काइँलालाई स्रष्टा-सम्मान अर्पण गरिएको थियो।

    भानु प्रतिष्ठानका अध्यक्ष प्रा.डा. व्रतराज आचार्यले भानुभक्तका रचनाहरूले तत्कालीन नेपाली समाजलाई रूपान्तरण गर्न पुर्‍याएको योगदानबारे चर्चा गर्नुभएको थियो। यसै गरी भानु प्रतिष्ठानका उपाध्यक्ष डीपी अर्यालले शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो।

    कविता प्रतियोगितामा उपत्यकाका २१ ओटा विद्यालयका ३२ जना कवि प्रतिभाले सहभागिता जनाएका थिए।

    कवि त्रय सन्ध्या पहाडी, रमेश शुभेच्छुक र ॠषभदेव घिमिरेले मूल्याङ्कन गर्नुभएको प्रतियोगिताको नतिजाअनुसार अवेरनेस इन्टरनेसल एकेडेमी, शंखमूलका डिपलभ अधिकारी प्रथम, कान्ति भैरव गुरुकुल विद्यालय, गोकर्णेश्वरका मधुसूदन पराजुली द्वितीय, विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालय, विजेश्वरीकी सदिच्छा अर्याल तृतीय, काठमाडौं प्रज्ञाकुञ्ज, नयाँ बानेश्वरकी आभा खड्का र रिपुमर्दिनी सैनिक महाविद्यालय, बाँसबारीकी मेरिया गुरूङले चतुर्थ स्थान हासिल गरे। विजयीहरूलाई क्रमशः नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

    भानु जयन्तीकै अवसरमा भ्याली भ्यु स्कुलले आयोजना गरेको अर्को एक सांस्कृतिक कार्यक्रमका अवसरमा नेपाली लोकनृत्य क्ष्रेत्रका प्रथम निर्देशक ९१ वर्षीय श्री भैरवबहादुर थापालाई ‘शैक्षिक साधना सम्मान’ अर्पण गरिएको थियो। भ्याली भ्यु स्कुलले हरेक वर्ष भानु जयन्तीको अवसर पारेर यस किसिमका साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्दै आएको छ।