काठमाडौं– वान– एक्स बेट प्रकरणमा एक महिना हिरासतमा बसेपछि बल्छी धुर्बे, राजु मास्टर, म्याकुरी, भट्भटे माइला लगायत आठ जना कलाकार र युट्युबर आ–आफ्नो काममा फर्किएका छन। उनिहरु गत साता रिहा थिए।
जसमध्ये मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ र बेगम नेपाली ‘भट्भटे माइला’शुक्रबारदेखि काममा फर्किएका छन्। धर्मस्थलीमा छायांकन सुरु भएको टिभी सिरियल ‘हल्का रमाइलो’को छायांकनमा बल्छी धुर्बे सहभागी भए।
‘आजदेखि काममा फर्कन पाउँदा उत्साहित छु र रमाइलो भइरहेको छ। भित्रको ह्याङ्ओभरलाई मेटाउँदै जाने हो अब। भएका गल्तीलाई बिस्तारै भुल्दै जानुपर्छ भन्नेतिर छु। भित्र बस्दा बोरिङ फिल भएको थियो,उनले भने।
दर्शकले ‘हल्का रमाइलो’को यो एपिसोड आइतबार हेर्न सक्ने उनले बताए। तर ‘जुठे’को छायांकन सुरु हुन भने केही साता लाग्ने बल्छी धुर्वेले जानकारी दिए। हिरासतबाट रिहा भएका अर्का कलाकार बेगम नेपाली पनि शुक्रबारदेखि कलंकीमा सुरु भएको टिभी सिरियल ‘गाह्रो छ हो’को सुटिङमा जोडिए। ‘डेढ महिनापछि सबै कुरालाई बिर्सेर काममा फर्किने प्रयास गरेको छु। अब गल्ती नहोस् भनेर अघि बढ्ने हो,’ उनले भने।
यतिबेला कलंकीको एक रोधीघरमा यो सिरियलको छायांकन भइरहेको छ। अहिले पनि राति निद्रामा बर्बराउने समस्या रहेको र आफू बिस्तारै ठीक हुने तर्फ रहेको उनले बताए। ‘भित्रका कुरा सुनेर म राति बर्बराउने रहेछु। दिउँसो पनि त्यही कुरा सम्झेर दुःख लाग्छ। अब बिस्तारै भुल्दै जाने हो,’ उनले भने। ‘गाह्रो छ हो’को १६० औं श्रृंखला अर्को साता प्रसारण हुने भएको छ।