काठमाडौँ — नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको बैठक बसेर जनताले के पायो भन्दै प्रश्न गरेका छन। आज (शुक्रबार) केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन्। यस्तै उनले सत्तामा रहेको कांग्रेसले जनतालाई सुशासन र डेलिभेरी दिने विषयमा निर्णय लिन सक्नुपर्ने बताएका छन्। सरकारमा रहेका बेला कांग्रेसले बिग्रिएको छवि सुधार गर्ने गरी काम गर्नुपर्ने बताए।
‘अहिले केन्द्रीय कार्यसमितिको बैठक चलिरहेको छ। यो बैठकमा हामीले छलफल गरिरहेका छौँ, तर जनताले के पाए ?के पाउने? उनले अघि भने, ‘हामीले जनताका दुःखसुखका विषयमा यहाँबाट निर्णय लिनुपर्छ।’
उनले स्थानीय तहदेखि केन्द्रसम्म पार्टीका निर्वाचित जनप्रतिनिधिले सरकार सञ्चालन गरिरहेको भन्दै यस्तो बेला पार्टीले निर्देशन गरेर जनताको पक्षमा काम गर्नुपर्ने बताए। ‘स्थानीय तहदेखि केन्द्रसम्म पनि पार्टी सरकारमा छ। तर पार्टीकै संगठनका नेता कार्यकर्ता खुसी छैनन। पार्टीले दिएको निर्णय जनप्रतिनिधिले मान्ने कि नमान्ने? सिंहले प्रश्न गर्दै अघि भने, ‘पार्टीको घोषणापत्र पनि थियो, तर त्यो घोषणापत्र खै कसले मानेको छ?हामीले अब पनि डेलिभेरी दिने कि नदिने हो भने पार्टीको संगठन कसरी बन्छ?