यो परिवारको सदस्यलाई लान्छना लाग्यो, अनि छिटो पक्र भनेर गृहमन्त्रीकहाँ डेलिगेशन जाने? : मीन विश्वकर्मा - Chaitanya News
  • 2026-11-17
  • 03:01:04
  • सोमबार,मंसिर ०१, २०८३
  • यो परिवारको सदस्यलाई लान्छना लाग्यो, अनि छिटो पक्र भनेर गृहमन्त्रीकहाँ डेलिगेशन जाने? : मीन विश्वकर्मा

    यो परिवारको सदस्यलाई लान्छना लाग्यो, अनि छिटो पक्र भनेर गृहमन्त्रीकहाँ डेलिगेशन जाने? : मीन विश्वकर्मा

    काठमाडौं– नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बचाउमा केन्द्रीय समितिमा धारणा राखेका छन्।

    आज (शुक्रबार) केन्द्रीय समिति बैठक बोल्दै उनले यस्तो बताए। यस्तै उनले पार्टीका नेताहरु नारायणकाजी श्रेष्ठकहाँ धन्यवाद दिन दिएको प्रति आपत्ति जनाए।

    ‘कांग्रेस एउटा घर हो। यो परिवारको सदस्यलाई लान्छना लाग्यो। अनि छिटो पक्र भनेर डेलिगेशन जाने? त्यति आदर्शवादी भयौं हामी? त्यसो भए त हाम्रो पक्षबाट वकिल पनि राख्न भएन,’ विश्वकर्माले भने।

    पार्टीले नै दोषी र निर्दोष करार गर्ने भए अदालत किन चाहियो भनि उनले प्रश्न उठाए। पार्टी बैठकले फैसला गर्ने हो भने वकिल किन राख्नुपर्‍यो नि उनले जिज्ञासा पार्टीमा राखे। ‘पक्ष विपक्षमा छलफल कांग्रेसले गर्ने हो भने अदालत किन चाहियो? यही कार्यसमितिले गर्छ भने वकिल पनि राख्न भएन नि,’ विश्वकर्माले भने,‘वकिलले वकालत गर्न नि भएन। अदालतले दोषी हो होइन भनी प्रमाणित नगर्दासम्म सर्वोच्च अदालत हो, दोषी अहिले नै ठहर गर्ने? ’

    अरु पार्टीले आफ्ना सदस्य जोगाउन बचाउन लागिरहँदा आफ्ना नेताहरु गृहमन्त्रीकहाँ डेलिगेशनमा गएको विश्वकर्माले बताए।

    कांग्रेस अप्ठ्यारोमा भन्दा पनि कांग्रेस अलमलमा रहेको उनले बुझाइ थियो। ‘२०७४ मा गठबन्धन गर्न हुन्न भन्यौं। २०७९ मा गर्‍यौं। हामी यहाँ नेर अलमलमा छौं कि,’ विश्वकर्माले भने,‘प्रचण्डलाई प्रधानमन्त्री ३२ लाई किन दिने भन्यौं। अहिले फर्काएर सरकार ल्यायौं। अहिले पनि ठीक छैन भन्छौं।

    २००६ साल देखिका प्रतिस्पर्धीसँग पनि कांग्रेसलाई खतरा नभएको र उनीहरुलाई पटक पटक जित्दै आएको विश्वकर्माले बैठकमा सुनाए। अहिले उम्रेका पार्टीबाट कांग्रेसलाई खतरा नभएको विश्वकर्माको तर्क छ। खतरा पार्टी भित्रकै अन्तर कलह कारण रहेको उनले औंल्याए।