आर्थिक अवस्थाका कारण चाहेका सबै काम गर्नसक्ने अवस्था छैन : सहरी विकासमन्त्री गुरूङ - Chaitanya News
  • 2026-11-17
  • 02:44:46
  • सोमबार,मंसिर ०१, २०८३
  • आर्थिक अवस्थाका कारण चाहेका सबै काम गर्नसक्ने अवस्था छैन : सहरी विकासमन्त्री गुरूङ

    आर्थिक अवस्थाका कारण चाहेका सबै काम गर्नसक्ने अवस्था छैन : सहरी विकासमन्त्री गुरूङ

    काठमाडौँ— सहरी विकासमन्त्री सीता गुरूङले देशको आर्थिक अवस्थाका कारण आफूले चाहेका सबै काम गर्न सकिने अवस्था नरहेको बताएकी छिन्। आज (शुक्रबार) पार्टी केन्द्रीय कार्यसमिति बैठकमा उनले यस्तो बताएकी हुन्। यसतै उनले पार्टीले सरकारमा पठाएर काम गर्ने जिम्मेवारी दिए पनि बजेट अभावका कारण विकास निर्माणका थुप्रै काम प्रभावित भएको पनि बताइन्।

    ‘हामी चैत्र १७ गते सरकारमा गयौँ। छोटो समयमा बजेट बनाउनुपर्दा पार्टीले चाहेका सबै नीति कार्यक्रम र योजनामा ध्यान पुर्‍याउन नसकिएको अवस्था छ,’ उनले भनिन्, ‘देशको आर्थिक अवस्थाको कारणले पनि समस्या परेको छ। राम्रो गर्छु भन्ने अवश्य छ। तर देशको आर्थिक अवस्थाका कारण चाहेका सबै काम गर्न सकिने अवस्था छैन।’

    मन्त्री गुरूङले कांग्रेसको नेतृत्वमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान आएको भन्दै त्यसको पूर्ण कार्यान्वयनको जिम्मेवारीसमेत कांग्रेसकै काँधमा रहेको बताइन्। उनले प्रदेशलाई कमजोर बनाएर संघीय शासन व्यवस्था बलियो हुन नसक्ने धारणा राखिन्। ‘प्रदेशलाई कमजोर बनाएर संघीयतालाई मजबुद बनाउन सकिदैन। त्यसकारण पार्टीले गर्ने गतिविधिमा पनि प्रदेशलाई भूमिका दिने, अधिकार दिने कुरामा ध्यान दिनु उपयुक्त होला,’ उनले भनिन्।

    उनले कांग्रेसको यो बैठकबाट जनताका दुःखसुख र समस्या समाधानको खाका समेत तयार गरेर अघि बढ्नुपर्ने बताइन्। ‘जनताको जनजीविकाको कुरा, महिला शशक्तिकरण र युवालाई रोजगारी तथा आर्थिक आत्मनिर्भरताको बाटोमा देशलाई अघि बढाउने विषयमा पार्टीको अवधारणा प्रष्ट पारेर अघि बढ्नु आवश्यक छ,’ उनले भनिन्।

    उनले कांग्रेसका नेता कार्यकर्ताले नै चुनावमा भोट नहालको यथार्थ तितो रहेको भन्दै त्यसरी कमजोरी गर्नेहरूलाई दण्डित गरेर अघि बढ्नुपर्ने बताएकी छिन् । ‘अनुशासन समितिलाई छिटोभन्दा छिटो पूर्णता दिऔँ । देशभरि अनुगमन टोली खटाएर गल्ती गर्नेहरूलाई कारबाही र कमजोरीहरूलाई सच्याएर पार्टीलाई अघि बढाऔँ,’ उनले भनिन्।