काठमाडौँ– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाईले विश्वविद्यालयका पदाधिकारी र राजदूत नियुक्त गर्दा राजनीति नगर्न आग्रह गरेकी छन्। आज (शुक्रबार)सानेपामा जारी केन्द्रीय समिति बैठक प्रसाईले यस्तो आग्रह गरेकी हुन्।
पार्टीका कार्यकर्तालाई राजदूत बनाउँदा छवि बिग्रेको बताउँदै उनले भनिन्, ‘विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्दा र राजदूत नियुक्त गर्दा राजनीतिकरण नगरियोस्। शिक्षा क्षेत्रमा राजनीति गर्न हुन्न। शिक्षा क्षेत्र अस्तव्यस्त भएको छ। राजदूत पार्टीका कार्यकर्ता बनाउँदा छवि बिग्रेको छ।
उनले राजदूतको नियुक्ति योग्यता र क्षमताका आधारमा हुनुपर्ने बताइन्।
त्यस्तै, उनले पार्टीको बैठकको प्रत्यक्ष प्रशारण नगर्न पनि आग्रह गरिन्। लाइभ गर्दा खुलेर बोल्न नसकेको उनको भनाइ छ।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ। करिब एक वर्षपछि बसेको बैठकको आज चौथो दिन हो। आज पनि विभिन्न केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन्।