काठमाडौँ– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) शुल्क समायोजन गर्ने निर्णय तत्काललाई स्थगित गरेको छ। सीटीईभीटीले यस वर्षको डिप्लोमा तथा प्रमाणपत्र तहको शुल्क समायोजन गरेको थियो। उक्त विषयमा चौतर्फी विरोध सुरू भएको थियो। त्यसपछि परिषद्ले शुल्क समायोजनको निर्णय तत्कालका लागि स्थगित गरेको हो।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), स्तर निर्धारण तथा सम्बन्धन महाशाखाले निजी शिक्षण संस्थाका लागि शुल्क समायोजन गरेको छ।
असार २९ गते परिषद्ले शुल्क समायोजन गर्ने निर्णय गरेको थियो। उक्त समायोजनसम्बन्धी प्रकाशित सूचनाका सम्बन्धमा सरोकारवालाहरूसँगको छलफलपछि मात्र शुल्क समायोजन गर्ने गरी हाललाई स्थगित गरिएको परिषद्ले जनाएको छ। परिषद्ले नर्सिङ, सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसीको शुल्क बढाएको थियो। डिप्लोमा इन फार्मेसीका लागि प्रथम वर्ष १ लाख ६९ हजार ४६४, दोस्रो वर्षका लागि १ लाख २७ हजार ९८ र तृतीय वर्षका लागि १ लाख २७ हजार ९८ रूपैयाँ शुल्क निर्धारण गरेको थियो।
त्यस्तै प्रमाणपत्र तह नर्सिङ्गतर्फ प्रथम वर्ष २ लाख ४९ हजार ६९०, द्वितीय वर्ष र १ लाख ८७ हजार २७० र तृतीय वर्षमा १ लाख ८७ हजार २७० रूपैयाँ शुल्क निधारण गरेको थियो। प्रमाणपत्र तह सामान्य चिकित्सातर्फ प्रथम वर्ष २ लाख ९ हजार ५३०, द्वितीय वर्ष १ लाख ५७ हजार १४५ र तृतीय वर्षका लागि १ लाख ५७ हजार १४५ शुल्क निर्धारण गरेको थियो।
सीटीईभीटबाट सम्बन्धन तथा स्वीकृति प्राप्त गरी सञ्चालित शिक्षण संस्थामा शैक्षिक सत्र २०७१–०७२ मा तोकिएको शुल्कअनुसार पठनपाठन गराउँदै आएका छन्। परिषद्ले शैक्षिक सत्र २०८०–८१ देखि लागू हुने गरी शुल्क समायोजन गरेको हो।
२०७९–०९–०६ मा मन्त्रीस्तरीय निर्णय, विभिन्न समयमा गठित शुल्क समायोजन सम्बन्धी कार्यटोलीका सुझाव तथा परिषद्को असार १ गतेको निर्णयअनुसार शुल्क बढाउने निर्णय गरेको थियो।
![]()