काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सभापति शेरबहादुर देउवालाई पूर्व गृहमन्त्री बालकृष्ण खाँण रोज्ने कि सरकार भनेर प्रश्न गरेका छन्। सानेपामा जारी बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन्। यस्तै बालकृष्ण खाँणलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाएको छ। सभापतिज्यू, हाम्रो द्धिविधा अचम्मकै छ। खाँणप्रति अन्याय भयो भन्ने हो भने यो सरकारबाट हट्नुपर्यो । होइन भने आरोपीलाई पार्टीबाट निलम्बन गर्नुपर्छ कि पर्दैन?
भ्रष्टचारको विषयमा बैठकबाट पनि भ्रमपूर्ण सन्देश प्रवाह हुन नहुने उनले बताए। ‘सरकार र साथीमध्ये के रोज्ने हो यो बैठकले टुंगो लगाउनुपर्दछ,’ शिवाकोटीले भने। यस्तै उनले सुशासनको हिमायती कांग्रेसका कार्यकर्ताहरू कुनै पनि भ्रष्टाचारको विषयलाई पृष्ठपोषण गर्न नसक्ने बताए। ‘बरु बाघले खाए खाओस् तर कुनै पनि भ्रष्टाचारलाई काँध थाप्न सकिँदैन र हुँदैन पनि,’ उनले भने, ‘भ्रष्टाचार हो होइन भन्ने जिम्मा लगाउन अदालतलाई छाड्दिनुपर्छ। यस्तै प्रकरणमा व्यक्ति स्वयम् जवाफदेही हुनुपर्छ।’