काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (बिहीबार) पनि बस्दैछ । पार्टी कार्यालय सानेपामा मंगलबारदेखि सुरु भएको बैठकमा आज पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् ।
बैठकमा प्रस्तुत १० वटा एजेण्डा र प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् । बैठक आज बिहान ११ बजे सुरु हुनेछ र प्रत्येक बोल्ने सदस्यलाई ७ मिनेटको समय निर्धारण गरिएको छ । सामाजिक सञ्जालमा बैठकको प्रत्यक्ष प्रशारण हुँदै आएको छ ।
हिजो बोल्ने नेताहरुले प्रदेश समितिलाई जिम्मेवारीविहीन बनाइएको भन्दै नेतृत्वप्रति आक्रोश पोखेका छन् । अधिकांश सदस्यहरुले गुटबन्दी मौलाएको, सरकार र पार्टीबीच समन्वय हुन नसकेको र पार्टी विधानअनुरुप चल्न नसकेको धारणा राखे। केही नेताले भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत बचाउ गरेका छन् ।
बैठकमा सातै प्रदेश सभापतिहरुले प्रदेश समितिलाई जिम्मेवारीविहीन बनाइएको भन्दै नेतृत्वप्रति आक्रोश व्यक्त गरेका छन् । जिम्मेवारीविहीन बनाउनुको साटो प्रदेश संरचना खारेज नै गर्न उनीहरुले चुनौती दिए । पार्टीका नेताहरु प्रदेश समितिसँग समन्वय नगरी सिधै जिल्ला र स्थानीय तहमा जाने गरेको उल्लेख गर्दै उनीहरुले प्रदेशलाई कम महत्व दिए पार्टी संगठन कमजोर हुने धारणा राखे । यस्तै, सदनमा पार्टीको उपस्थिति कमजोर भएकाले संसद बैठकमा जानुपूर्व सल्लाह गर्नुपर्नेमा पनि नेताहरुको जोड थियो । केही केन्द्रीय सदस्यहरुले भने भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बचाउ गरेका थिए ।
बैठकमा सहमहामन्त्रीहरुलाई जिम्मेवारी नदिइएको, भ्रातृसंस्थाहरुलाई पार्टीले मरणासन्न अवस्थामा पुर्याउँदा तीनै तहको निर्वाचनमा असर परेको, नातावाद हाबी भएको, पार्टीमा गुटबन्दीको अवस्था रहेकोलगायतका विषय औंल्याएका थिए । महामन्त्री गगन थापाले मंगलबार पेस गरेको कार्ययोजनामा आगामी एक वर्ष पार्टीमा सदस्यता अभियान चलाउने र पाँचदेखि सात लाखसम्म सदस्य थप्ने, पार्टीका विभागलाई ४८ बाट ७० पुर्याउने प्रस्ताव गरिएको छ ।