साइबर सुरक्षा नीतिमा प्रदेश र स्थानीय तहलाई पनि समेट्न गंगानारायण श्रेष्ठको आग्रह - Chaitanya News
  • 2026-11-17
  • 03:49:24
  • सोमबार,मंसिर ०१, २०८३
  • साइबर सुरक्षा नीतिमा प्रदेश र स्थानीय तहलाई पनि समेट्न गंगानारायण श्रेष्ठको आग्रह

    साइबर सुरक्षा नीतिमा प्रदेश र स्थानीय तहलाई पनि समेट्न गंगानारायण श्रेष्ठको आग्रह

    ललितपुर– बागमती प्रदेश सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले साइबर सुरक्षा नीतिमा प्रदेश र स्थानीय तहलाई पनि समेट्नु पर्ने बताएकाछन्।

    केन्द्रीकृत मानसिकतामा बन्दै आएका संघीय नीतिलाई संघीयताको मर्म र भावना अनुसार अगाडि बढाउन बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री श्रेष्ठले संघीय सरकारलाई आग्रह गरेका हुन्।

    सञ्चार रजिष्ट्रार कार्यालयद्धारा प्रकाशित साइबर सुरक्षा नामक पुस्तक बुधबार विमोचन गर्दै मन्त्री श्रेष्ठले साइबर सुरक्षा रणनीति, नीति र कानून बनाएर कार्यान्वयन गर्न प्रस्तावित निर्देशक समितिमा साइबर सुरक्षा विज्ञ मात्रै होइन, प्रदेशमा सञ्चार हेर्ने मन्त्री, गाउँपालिका महासंघ र नगरपालिका संघको प्रतिनिधि रहन आवश्यक हुने बताए।

    ‘बागमती प्रदेशमा सूचना प्रविधि र साइबर सुरक्षासँग सम्बन्धित बिषयमा कानून निर्माण गरी कार्यान्वयनमा लगिनेछ। संघीय साइबर सुरक्षा नीति आएसँगै हामी प्रदेशमा पनि साइबर सुरक्षासँग सम्बन्धित बिषयमा सरोकारवालासँग छलफल गरी कार्यान्वयन गर्न सकिने कानून निर्माण गर्नेछ,’ उनले भने, ‘सूचना प्रविधिको विकास र यसले निम्त्याएका चुनौतीको सामना एक्लै गर्न सकिन्न, प्रदेश,स्थानीय तह र संघ मिलेर नै सामना गर्नु पर्ने हुन्छ। त्यो दिशामा हामी काम गर्नेछौ।’

    साइबर सुरक्षाको समन्वय तथा सहजीकरण समितिमा प्रदेशका सञ्चार हेर्ने मन्त्रालयका सचिवको प्रतिनिधित्व हुनु पर्ने, राष्ट्रिय साइबर सुरक्षा रणनीतिक कार्य समूहमा प्रदेशको सञ्चार हेर्ने निकायको प्रमुखको प्रतिनिधित्व हुनु पर्ने पनि उनले बताए। ‘संघ र प्रदेशमा समन्वय हुन्छ र जुनसुकै स्थानीय तहलाई पनि त्यही संयन्त्रभित्र ल्याउन उपयुक्त हुन्छ। उनले भने।

    यस्तै सञ्चार रजिष्ट्रार रेवती सापकोटाले आम नागरिकले कम्प्युटर, मोबाइल फोन, इन्टरनेट र सामाजिक सञ्जालको दैनिक प्रयोग गर्ने सवालमा आउने चुनौती र त्यसका सुरक्षा उपायहरुका बारेमा जानकारी गराउने उद्देश्यले साइबर सुरक्षा पुस्तक तयार पारिएको बताए।

    उनले भने, ‘डिजिटल प्रविधिको प्रयोगमा धेरै चुनौतीहरु छन् तर यस्ता चुनौतीसँग भागेर अगाडि बढने बाटो छैन, बरु आफूलाई सक्दो प्रविधि साक्षर र प्रविधिमैत्री बनाउन सकियो भने यसबाट लिन सकिने फाइदा धेरै छन्। नेपाली नागरिकलाई चुनौतीको सामना गर्न सक्षम बनाउन साइबर सुरक्षासँग सम्बन्धित बिषयमा चेतना जगाउन उपयोगी हुने अध्ययन सामग्री तयार गरिएको हो।’