काठमाडौं– ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुको बन्दी प्रत्यक्षीकरणको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाश ढुंगाना र नहकूल सुवेदीको संयुक्त इजलासमा सुनुवाई भइरहेको उक्त रिटको सुनुवाई तीन दिनदेखि भइरहेको भएपनि आजपनि नसकिएको हो।
रिटको सुनुवाई भोलि पनि निरन्तर हुनेछ। रिट निवेदकको तर्फबाट बहस गर्ने अधिवक्ताहरु धेरै भएकाले आज सुनुवाई नसकिएको बताइएको छ।उक्त प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, डिल्लीबजार मालपोतका पूर्वकर्मचारी धर्मप्रसाद गौतम र नेपाल सरकारका बहालवाला सचिव कृष्णबहादुर राउतको तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो।
ललिता निवास प्रकरणमा यसअघि अख्तियार दु्रुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरेको थियो। अख्तियारले चलाएको गुरुङसहितका प्रतिवादीको मुद्दा अहिले पनि विशेष अदालतमा विचाराधीन छ।