काठमाडौँ — नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीतादेवी देवकोटाले देशको मुहार फेर्ने योजना खै भन्दै प्रश्न गरेकी छन। आज ( बुधबार) केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन्। यस्तै उनले बर्सेनि लाखौँ युवाहरू विदेसिने क्रम बढिरहेको भन्दै युवालाई देशमै रोक्ने योजना नल्याएसम्म मुलुकको आर्थिक समृद्धि सम्भव नरहेको पनि बताएकी छन्।
नेता देवकोटाले नेपाली विद्यार्थीले विदेशमा पढ्न जाँदा मात्रै ५०औँ अर्ब रुपैयाँ बाहिरिएको तथ्यलाई बुझ्नु आवश्यक रहेको बताइन्।
‘अहिले बर्सेनि एक लाख विद्यार्थी विदेश गइरहेका छन्। जो बाहिरिँदा हरेक वर्ष ५० औँ अर्ब बाहिर गइरहेको छ। ती युवा विद्यार्थीलाई स्वदेशमै रोकेर यो देशको उन्नतिमा श्रम गराउन कांग्रेससँग योजना हुनुपर्छ,’ देवकोटाले अघि भनिन्, ‘महामन्त्रीज्यूहरूलाई म सोध्न चाहन्छु( हाम्रै विद्यालय, कलेजमा पढाएर यी युवा विद्यार्थीलाई देशमै राख्ने योजना कहाँ छ?
उनले कांग्रेसले व्यवस्थित पार्टी र संगठन बनाएर मात्रै नहुने भन्दै देश बनाउने खाका लिएर अघि बढ्नुपर्नेमा महामन्त्रीहरूको ध्यानाकर्षण गराइन्। ‘महामन्त्रीज्यूले विधानको कार्यान्वयन गर्ने वार्षिक क्यालेन्डर प्रस्तुत गर्नुभयो। तर अवस्था यस्तो छ कि हामीले पार्टीकोमात्रै मुहार फेरेर हुनेवाला छैन, देशको मुहार फेर्नु छ, त्यसका लागि पनि कांग्रेसले योजना दिनुपर्छ।’