काठमाडौं– केन्द्रीय सदस्य नैनसिंह महरले नेपाली कांग्रेसका महामन्त्री गगन कु्मार थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरुसँग गरेको छलफलको प्रक्रिया नपुगेको विषय केन्द्रीय समिति बैठकमा उठाएका छन।
महरले जिल्ला सभापतिको भेलामा सभापति सहभागी नभएको विगतको उदाहरण नभएको सुनाए। ‘कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला पार्टी सभापति हुँदा सभापति नराखेर जिल्ला सभापति भेला भएको मैले सुनेको छैन’। महरले भने।
केन्द्रीय सदस्यहरुलाई समेत भेलामा डाकिएको भए सबैले अपनत्व लिने अवस्था आउने भन्दै नेता महरले बैठकमा भने, ‘केन्द्रीय कार्यालय हामीभन्दा बाहिर होइन। हो भने जानकारी पाउँ।
लोकतन्त्रमा परिणाम मात्रै नभई प्रक्रियाको पनि महत्व हुने भन्दै उनले प्रक्रिया नपुर्याई गरिएका काम अवैधानिक हुने महरको भनाइ छ। महामन्त्रीद्वय थापा र शर्माले २१ र २२ असारमा ७७ जिल्लाका सभापतिलाई काठमाडौं डाकेर संगठन निर्माणका विषयमा छलफल गरेका थिए।
सरकार, संसद् र पार्टीबीचको समन्वय हुन नसकेको विषयलाई पनि महरले बैठकमा उठाए । सरकार, सदन र पार्टीबीचको समन्वयमा केही समस्या रहेको महरको धारणा थियो।
‘कांग्रेस केन्द्रीय समिति, संसदीय दल र सरकार–प्रदेश समिति तथा स्थानीय तहकाबीच ठूलो खाडल देखिन्छ। संसद्ले पास गर्ने विधेयकप्रति केन्द्रीय समिति बेखबर छ’ महरले भने। सभापति, उपसभापति, महामन्त्री लगायत पदाधिकारीको धारणा फरक फरक आउँदा कांग्रेसप्रति जनतामा भ्रम सिर्जना भएको महरले बताए।
प्रतिनिधि सभामा ८८ सिट, प्रदेश सांसद १७५, पालिका प्रमुख ३२९, २ हजार ६५८ वडा अध्यक्ष र १० हजार ७६ वडा सदस्य कांग्रेसबाट निर्वाचित भएकाले जिम्मेवारी पनि सबैभन्दा बढी रहेको उनले बैठकमा सुनाए।