कांग्रेस केन्द्रीय समिति बैठकमा आज के–के भयो? - Chaitanya News
  • 2026-11-16
  • 17:21:09
  • सोमबार,मंसिर ०१, २०८३
  • कांग्रेस केन्द्रीय समिति बैठकमा आज के–के भयो?

    कांग्रेस केन्द्रीय समिति बैठकमा आज के–के भयो?

    काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो दिनको बैठक सकिएको छ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्य समितिको पहिलो दिनको बैठक नेताहरूले विभिन्न प्रस्तुति राख्दै सकिएको हो। दिउँसो २ बजे सुरु भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गरेसँगै महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेण्डा राखेका थिए।

    त्यसपछि महामन्त्री गगनकुमार थापाले पार्टीको कार्ययोजना प्रस्तुत गरेका थिए। बैठकमा निर्वाचन परिचालन समितिको प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन पनि पेस भएको छ।

    त्यसैगरी पार्टीका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनका सम्बन्धमा प्रस्तुति दिएको र प्रमुख सचेतक रमेश लेखकले पार्टीको संसदीय भूमिकाको सम्बन्धमा कुरा राखेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

    बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ। भोलिबाट प्रत्येक केन्द्रीय समिति सदस्यलाई बोल्नका लागि सात मिनेटको समय उपलब्ध गराइने बताइएको छ।

    कांग्रेसको निर्वाचन परिचालन समितिले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन कारण समानुपातिक मत घटेको निष्कर्ष निकालेको छ।

    निर्वाचन परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठले मंगलबारको केन्द्रीय समिति बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै आगामी निर्वाचनमा विशेष रणनीति अपनाउन सुझाएका छन्।

    ‘कतिपय स्थानमा गठबन्धनका कारण समानुपातिकतर्फ मत घट्न गएको परिवेशमा आगामी चुनावमा पार्टीले विशेष रणनीति अपनाउनुका साथै पार्टीको नेता तथा कार्यकर्ताबीच एकता हुने गरी रणनीति तय गर्नु आजको आवश्यकता रहेको प्रस्ट्याउन चाहन्छु,’ उनले भने।

    उनले गठबन्धनका कारण महिला, जनजातिलाई टिकट दिन पार्टी नेतृत्व अनुदार रहेको बताएका छन्।

    ‘गठबन्धनका कारण प्रत्यक्षतर्फ महिला, दलित टिकट कारण समावेश गर्न सकिएन भनेर समानुपातिकर्फ कुल पुरुषमा समावेशीको मर्मबमोजिम जनजाति र मुस्लिम समावेश गर्न पार्टी नेतृत्व अनुदार रह्यो,’ उनले भने।

    आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलालाई कम्तीमा ३३ प्रतिशत दिनुपर्ने उनको सुझाव छ। पुराना नेताहरूलाई टिकट दिन नसक्दा बागी उमेदवार खडा भएको उनले बताए।

    ‘कतिपय स्थानमा पुराना तथा प्रजातन्त्रका लागि लडेका साथीहरूलाई टिकट दिन नसक्दा असन्तुष्टि बढ्न गई पार्टीविरुद्ध बागी उमेदवार खडा हुनु तथा अन्तर्घातको कारणले पार्टीले पराजयको पीडा भोग्नुपरेको आजको यथार्थ पनि हो,’ श्रेष्ठले सुनाए।

    उनले पार्टीभित्रको गुटबन्दी मिलए कांग्रेस अरू पार्टीसँग डराउनुपर्ने अवस्थामा नरहेको पनि बताए