काठमाडौं– बहुबिवाह गरेका पूर्वन्यायाधीश डा. श्रीकृष्ण भट्टराईले सम्बन्धविच्छेदको मुद्दा हालेका छन। जिल्ला अदालत लमजुङमा जेठी श्रीमती मिठू सिलवालविरुद्ध सम्बन्धविच्छेदको मुद्दा अघि बढाएका हुन्। बहुविवाहको छानबिनमा तानिने र पेन्सन बाँड्नुपर्ने भएपछि अवकाश लगत्तै भट्टराईले सम्बन्धविच्छेदको प्रक्रिया अघि बढाएका हुन्।
अदालतमा दर्ता गरेको फिरादपत्रमा नै उनले ‘पहिलो श्रीमतीसँग घरजम हुन नसकेपछि आफूले दोस्रो विवाह गरेको’ स्वीकारेका छन्। र पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद नगरी दोस्रो विवाह गरेको समेत स्वीकारेका छन्।
पहिलो श्रीमतीसँगको मौखिक सहमतिमा ‘सम्बन्धविच्छेद सरहको अवस्थामा पुगेको र उनकै सहमतिमा दोस्रो विवाह गरेको’ दाबी गरेका न्यायाधीश भट्टराईले अब आएर प्राविधिक रुपमा कायम रहन गएको पति–पत्नीको नाता सम्बन्ध विधिवत विच्छेद गरिपाऊँ’ भनी निवेदन दिएका हुन्।
अर्घाखाँची जिल्ला अदालतमा न्यायाधीश रहेका भट्टराईले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइका बेला ‘उनी प्रधानन्यायाधीश पदमा नियुक्त हुन अयोग्य रहेको’ भन्दै उजुरी दिएका थिए। उजुरीकर्तासँग समितिका सबै सदस्यहरुले सामूहिक छलफल गर्नुपर्छ भन्ने अडान राखेका उनले माग पूरा नभएपछि उजुरीको सनाखत समेत गरेनन्।
न्यायपरिषद स्रोतका अनुसार, न्यायाधीश भट्टराई विरुद्ध कार्यक्षमताको प्रश्न जोडिएको केही उजुरीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको थियो। अनुसन्धान अघि बढेकोमा क्रुद्ध बनेका उनले त्यही झोँकमा संसदीय सुनुवाइ विशेष समितिमा उजुरी दिएको परिषदस्रोत बताउँछ।
प्रधानन्यायाधीश कार्कीको नाम समितिबाट अनुमोदन भएपछि भट्टराईले पदबाट राजीनामा दिए। आफूले योग्यतामा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको भन्दै उनले पद छाडेका थिए। राजीनामाको केही सातामै उनले पहिलो श्रीमतीविरुद्ध सम्बन्धविच्छेदको फिराद दर्ता गरेका हुन्।