काठमाडौं– यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले घाटाको बजेटले भुक्तानी सन्तुलन बिग्रियको बताएका छन। मंगलबार काठमाडौंमा आयोजित ‘विकास खर्चको वर्तमान अवस्था र पूर्वाधार विकासमा देखिएका चुनौती’ विषयक कार्यक्रमलाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले सरकारले घाटाको बजेट बनाउने गरेकाले भुक्तानी सन्तुलन बिग्रने गरेको खुलासा गरेका छन्। सचिव शर्माले राज्यको ढुकुटीमा पैसा भएरभन्दा पनि राजस्व, वैदेशिक ऋणमाथि भर परेर बजेट आउने गरेकाले भुक्तानी समयमै हुन नसकेको बताए।
उनले बजेट आफैँ घाटामा आउने गरेकाले विकास आयोजनाका लागि सरकारले समयमै भुक्तानी गर्न नसकेको पनि स्पष्ट पारे।
कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले समयमै भुक्तानी नगरेकै कारण निर्माण व्यवसायी बाउन्स चेकको इस्युमा जेल जानुपर्ने अवस्था आएको गुनासो गरेका थिए। त्यसको जवाफ दिने क्रममा सचिव शर्माले राज्यको ढुकुटीमा बजेट नभएको कारण भुक्तानीमा समस्या भएको बताए।
अहिले पनि राजस्व र वैदेशिक ऋण प्रक्षेपण गरिएअनुसार आउन नसकेका कारण विकास आयोजनाहरुको भुक्तानीमा झनै समस्या बढेर जाने अवस्था रहेको बताए। सचिव शर्माले वैदेशिक ऋण ल्याउने काममा ढिलाइ भएका कारण विकास खर्च आर्थिक वर्षको अन्त्य जेठ, असारमा आएर मात्रै हुने गरेको समेत उनले बताए।
कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले सरकारले समयमै भुक्तानी नगर्दा आफूहरुले विकास, निर्माणको कामलाई अघि बढाउन नसकेको गुनासो गरेका थिए। उनले पुरानो बिलहरुको समेत सरकारले भुक्तानी नगरेकै कारण निर्माण व्यवसायी बाउन्स चेकको कसुरमा जेल जानुपर्ने अवस्था आएको बताए। अध्यक्ष सिंहले सरकार आफैँ विकास, निर्माणको काम अघि बढाउन गम्भीर नभएको आरोपसमेत लगाए।
अध्यक्ष सिंहले सरकारले समयमै भुक्तानी नगरेकै कारण कतिपय निर्माण व्यवसायी साइट पनि जान नसक्ने, अफिसमा पनि जान नसक्ने अवस्थामा पुगेको स्मरण गराए।