गृहमन्त्रीको राजीनामा माग गर्दै मिटरब्याज पीडितले गरे प्रदर्शन - Chaitanya News
  • 2026-11-16
  • 17:03:02
  • सोमबार,मंसिर ०१, २०८३
  • गृहमन्त्रीको राजीनामा माग गर्दै मिटरब्याज पीडितले गरे प्रदर्शन

    गृहमन्त्रीको राजीनामा माग गर्दै मिटरब्याज पीडितले गरे प्रदर्शन

    काठमाडौं– मिटरब्याज पीडितले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शन गरेको छन।

    आज (मंगलबार) मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले काठमाडौंको शान्तिवाटिकादेखि बानेश्वरसम्म गूहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए।

    सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्ने भन्दै मुलुकी ऐन संशोधनसमेत गरिसकेको छ। तर संघर्ष समितिले उक्त कानुनले पनि मिटरब्याज पीडितको समस्या समाधान नहुने भन्दै प्रदर्शन गरेको हो।

    समितिका प्रवक्ता नीर्ग नवीनले मिटरब्याजसम्बन्धी संसदले पारित गरेको कानुनका केही विषय पीडितको पक्षमा नभएको र यसमा गृहमन्त्रीको भूमिका रहेकाले राजीनामा माग गरेको बताए।

    ‘पहिलेको अध्यादेशमा धेरै कुरा ठीक थिए, तर राजनीतिक दलहरुको सेटिङमा अध्यादेश निष्क्रिय पारियो, पछि ४ बुँदामा संशोधन गर्दा कानुन साहु महाजनको पक्षमा गयो’, उनले भने।

    आइतबार प्रतिनिधिसभाबाट पारित मिटरब्याजसम्बन्धी कानुनमा लिखतहरु ऋणी र महाजन दुबै पक्ष गई स्थानीय तहमा दर्ता गर्नुपर्ने भन्ने उल्लेख थियो। ‘तर संशोधन गरेर महाजन एक्लै गएर पनि दर्ता गर्न सक्ने व्यवस्था गरियो, महाजनले त २÷३ वटा कागज बनाएको हुन्छ, ती कागज दर्ता गरेर मिटरब्याज पीडितविरुद्ध उल्टै अदालत जान सक्ने भयो’, प्रवक्ता नवीनले भने।

    त्यस्तै अध्यादेश प्रतिस्थापन विधेयकमा साहु महाजनविरुद्ध सम्पत्ति शुद्धिकरण मुद्दा आकर्षित हुने व्यवस्था रहेकामा संशोधन गरेर प्रकृति हेरेर भन्ने थप गरिएको छ। मिटरब्याज पीडितको जग्गा हक हस्तान्तरण बदर हुने व्यवस्था अध्यादेशमा रहेकामा अहिले त्यसलाई हिसाब गरेर भन्ने शब्द थपिएको उनले बताए। ‘यसरी अहिलेको कानुनमा धेरै लुपहोलहरु छाडिएको छ’ प्रवक्ता नवीनले भने।