तनहुँ– जिल्ला प्रशासन कार्यालय तनहुँबाट विद्युतीय राहदानी बनाउन सिफारिस गर्नेको सङ्ख्या आर्थिक वर्ष २०७९–८० मा ह्वात्तै बढेको छ। आर्थिक बर्ष २०७९– ८० मा जिल्ला प्रशासन कार्यालयद्वारा २२ हजार ६ सय ७१ जनाको सिफारिस गरिएको छ।
उक्त सङ्ख्या आर्थिक वर्ष २०७८÷७९ को भन्दा १३ हजार आठ सय १७ जनाले बढी हो। जिल्ला प्रशासन कार्यालयबाट राहदानी सिफारिस गरिएको यो सङ्ख्या हालसम्मकै बढी भएको राहदानी फाँटका खरिदार सुमन थापामगरले जानकारी दिए। आर्थिक वर्ष २०७८र७९ मा कार्यालयबाट राहदानी सिफारिस गरिएको सङ्ख्या आठ हजार आठ सय ५४ रहेको थियो भने ६ हजार ६ सय १९ जनालाई राहदानी वितरण गरिएको थियो। विदेश अध्ययन गर्न जाने विद्यार्थी, वैदेशिक रोजगारीमा जाने तथा आफन्त भेट्न विदेश जानेको सङ्ख्या ह्वात्तै बढेको थापामगरले बताए।
आव २०७९–८० को साउनमा एक हजार ८२ महिला र एक हजार चार सय ७८ पुरुष, भदौमा ६ सय ५० महिला र एक हजार एक सय ४६ पुरुष, असोजमा चार सय १८ महिला र सात सय १२ पुरुष, कात्तिकमा चार सय २१ महिला र सात सय ९१ पुरुष, मङ्सिरमा चार सय ८ महिला र सात सय ८८ पुरुष तथा पुसमा छ सय १५ महिला र एक हजार एक सय ५३ पुरुषलाई राहदानीका लागि सिफारिस गरिएको कार्यालयको अभिलेखमा उल्लेख छ।
यस्तै माघमा ६ सय ५२ महिला र एक हजार एक सय तीन पुरुष, फागुनमा ६ सय ५८ महिला र एक हजार एक सय ८८ पुरुष, चैतमा आठ सय ९५ महिला र एक हजार पाँच सय ३३ पुरुष, वैशाखमा सात सय ६७ महिला र एक हजार दुई सय ६३ पुरुष, जेठमा एक हजार ६३ महिला र एक हजार पाँच सय ६३ पुरुष तथा असारमा सात सय ८३ महिला र एक हजार एक सय ७० पुरुषलाई राहदानीका लागि सिफारिस गरिएको थियो । यस्तै एक सय ९८ नाबालकको सिफारिस गरिएको तथ्याङ्क छ।
आव २०७९–८० मा राहदानी सिफारिसबाट अघिल्लो आवको भन्दा झण्डै दोब्बर राजस्व सङ्कलन भएको थियो। आव २०७९–८० मा रु आठ करोड ८५ लाख राजस्व सङ्कलन भएको थियो भने आव २०७८७९ मा रु चार करोड ४२ लाख राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।