आयोगले मिटरब्याजीले हडपेको ४१ बिघा जग्गा फिर्ता गरायो - Chaitanya News
  • 2026-11-16
  • 16:50:17
  • सोमबार,मंसिर ०१, २०८३
  • आयोगले मिटरब्याजीले हडपेको ४१ बिघा जग्गा फिर्ता गरायो

    आयोगले मिटरब्याजीले हडपेको ४१ बिघा जग्गा फिर्ता गरायो

    काठमाडौं– आयोगले मिटरब्याजीले हडपेको ४१ बिघा जग्गा फिर्ता गराएकमो छ। अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले काम सुरु गरेको डेढ महिनामा मिटरब्याजीले हडपेको करिब ४१ विघा ८ कठ्ठा ११ धुर जग्गा ऋणीलाई फिर्ता गराएको हो।

    आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आइतबार एक विज्ञप्ति जारी गरी हालसम्म साहुबाट ऋणीलाई सो जग्गा फिर्ता गराइएको बताएका हुन्। ‘विभिन्न जिल्लामा साहुहरुबाट अदालतको फैसलाबाट जितेका, साहु वा उनका मान्छेका नाममा ऋणी आसामीबाट राजीनामा पास गराएका, बन्धकीलगायत जग्गा पीडित ऋणीलाई फिर्ता गराइयो’, विज्ञप्तिमा भनिएको छ।

    आयोगले २०८० वैशाख १७ देखि जेठ १४ गतेसम्म पीडितबाट निवेदन संकलन गरेको थियो। त्यसपछि मेलमिलापबाट समस्या समाधानको पहल गरेको अध्यक्ष कार्कीले बताएका छन्।

    मिटरब्याजबाट पीडित भएको भनी आयोगमा हाल करिब २४ हजार उजुरी परेको छ। तीमध्ये मधेशका ८ जिल्लाका मात्र १८ हजार भन्दा धेरै उजुरी रहेका छन्। उजुरीमध्ये डेढ महिनामा एक हजार ८८२ वटा निवेदन मेलमिलापबाट समस्या समाधान गरिएको कार्कीले बताएका छन्।

    ती उजुरीमा मिटरब्याज पीडितले ८९ करोड ८० लाख १४ हजार ४७३ रुपैयाँको खास लेनदेन भएको दाबी गरेका थिए। साहुहरुले भने १ अर्ब ७१ करोड २८ लाख ८२ हजार ७९६ रुपैयाँ साँवाब्याज असुल हुनुपर्ने माग गरेका थिए। तर ऋणीले ५६ करोड ७४ लाख ४७ हजार ४७० रुपैयाँ तिर्ने गरी दुबै पक्षबीच सहमति भएको अध्यक्ष कार्कीले बताएका छन्।

    ‘यसरी मिलापत्र गराउँदा साहुहरुको असुल हुन नसकेको रकम पनि असुल हुन सक्यो। केही साहुहरुले साँवा असुल हुँदा ब्याजसमेत माफी दिए। यो मिलापत्रको कामबाट साहु र आसामी दुबै पक्षको जितजितको अवस्था भयो। कुनै पक्षले पनि हार्नुपरेन । मेलमिलापबाट सामाजिक सौहाद्र्धता बढ्न गयो’ विज्ञप्तिमा भनिएको छ।