काठमाडौं– रक्षामन्त्री पूर्णबहादुर खड्काले विकास–निर्माणका काममा राजनीतिक दलहरुबीच सहकार्य हुन आवश्यक रहेको बताएका छन्। उनले आइतबार सुर्खेतमा भएको विभिन्न कार्यक्रममा बोल्दै विकास निर्माणमा दलहबिच सहकार्य हुन जरुरी भएको बताएका हुन्। यस्तै उनले राजनीति गर्नेहरुमा जनता, मतदाता र भावी पुस्तासँग डर हुनुपर्ने पनि बताए।
‘चुनावका बेला हामीले मतदातासँग र आम जनतासँग विभिन्न प्रतिवद्धता जनाएका हुन्छौं। ती प्रतिवद्धता पूरा गर्नु राजनीति गर्नेहरुको प्रतिवद्धता हो,’ खड्काले भने, ‘विकास–निर्माण जनताको नासो र सम्पत्ति हो, यी कामहरु गर्दा राजनीतिक दलहरु र राजनीतिकर्मीबीच सहकार्य र समन्वय हुन आवश्यक छ।’
भेरीगंगा नगरपालिका–८ मा लालपुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्काले भूमि आयोगमार्फत जग्गाधनी प्रमाणपुर्जा वितरणको काम भइरहेको बताए। ‘सरकारको लक्ष्य कोही पनि नागरिक भूमि विहीन भएर बस्नु नपरोस् भन्ने छ,’ उनले भने, ‘आयोगमार्फत जतिसक्दो चाँडो लालपुर्जा वितरणको काम सम्पन्न गर्ने गरेर तीन तहकै सरकार लागिरहेका छौं।’
उपप्रधानमन्त्री खड्काले विगतमा विभिन्न आयोगहरुले काम गरेर पनि जग्गाधनीले लालपुर्जा नपाएका, श्रेष्ता कायम हुन नपाएका, अधुरा कामहरु पूरा गरेर सुर्खेतमा पहिलो चरणमा लालपूर्जा वितरणको काम भइरहेको बताए।