काठमाडौं– गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानमा दबाब वा प्रभाव स्वीकार्य नभएको बताएका छन। गृह मन्त्रालयमा शान्ति सुदृढीकरण’का लागि सुरक्षा निकायका पूर्व उच्च अधिकारीसंँग आइतबार भएको छलफलमा उनले यस्तो बताएका हुन्। यस्तै उनले सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेप, आर्थिक चलखेल र शक्तिकेन्द्रको दबाबबाट मुक्त राखिने पनि बताएका छन्।
उनले संविधान, कानुन र जिम्मेवारीलाई आधार बनाएर मन्त्रालय र माहतहका सङ्गठनलाई अगाडि बढाइने र त्यसका लागि गृह मन्त्रालय र माहतहतका सङ्गठनको समग्र सुधारको योजना बनिरहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो। नेपाल प्रहरी र अनुसन्धान एकाइलाई निष्पक्ष, स्वतन्त्र र प्रभावकारी ढङ्गबाट घटनाहरूको अनुसन्धान गर्न निर्देशन दिइएको र कुनै पनि दबाब वा प्रभावबाट मुक्त रहेर अनुसन्धान प्रक्रिया अगाडि बढाइने उनले दाबी गरे।
ुअनियमिततामा संलग्न राजनीतिक, प्रशासनिक वा व्यावसायिक व्यक्ति पक्राउ पर्दा सम्बन्धित क्षेत्रबाट सहयोगको सट्टा विरोध हुन थालेपछि कसलाई कारबाही गर्ने? उनले प्रश्न गरे, के गरिब र निमुखालाई मात्रै कारबाही गर्ने?धनीलाई छुट्टै, गरिबलाई छुट्टै ऐन–कानुनको अपेक्षा गर्ने?त्यो हुँदैन।
प्रहरीभित्र गुटबन्दी रहेको र त्यसले सिङ्गो सङ्गठनलाई असर पारेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रालय त्यसलाई अन्त्य गर्न लागिपरेको बताए। प्रहरी जस्तो फौजी संगठनभित्र गुटबन्दी अन्त्य हुन सक्यो भने मात्रै राजनीतिक नेतृत्वको अनियमितता, आर्थिक चलखेल र शक्तिकेन्द्रको दबाबविरुद्ध तथा ऐन र नियमको परिधिभित्र एउटा गतिका साथ काम गर्न सकिन्छ, उनले भने।