काठमााडौं– प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वाच्च अदालतमा रहेका पुराना मुद्दा टुंग्याउन दुई वर्ष लाग्ने बताएका छन्।
आज (आइतबार) सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अहिलेकै तरिकाले काम गर्दा सर्वाेच्च अदालतमा रहेका पुराना मुद्दा टुंग्याउन दुई वर्ष लाग्ने बताएका हुन्। यस्तै उनले सर्वोच्च अदालतमा मुद्दाको चाप बढेको पनि बताए। समयमा न्यायाधीश नियुक्त नहुँदा मुद्दा फर्छ्योटमा ढिलाइ भएको प्रधानन्यायाधीशले बताए।
उनले भने, “सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सहित २१ न्यायाधीश रहने व्यवस्था छ, त्योअनुरुप हुन नसक्दा पाँच न्यायाधीशले मात्र काम गर्नुपरेको अवस्थामा मुद्दाको चाप बढेको हो।
अहिले सर्वोच्च अदालतले मुद्दा फर्छ्योट प्रक्रिया तीव्ररुपमा अघि बढाएकोको उनको भनाइ थियो। “अहिलेको तरिकाले काम गरेमा दुई वर्षमा पुराना मुद्दा फर्छ्योट गर्न सकिन्छ, कार्कीले भने।
आर्थिक वर्ष २०६७–६८ सम्मका मुद्दाको छिनोफानो भएको जानकारी दिँदै प्रधानन्यायाधीश कार्कीले एक वर्षको अवधिमा तीन हजार पाँच सयभन्दा बढी पाँच वर्ष नाघेका मुद्दा फर्छ्योट भइसकेको बताए। पुराना मुद्दालाई साताको चार दिन चार इजलासमा प्राथमिकता दिएर हेरिरहेको उनले जानकारी दिए।
उनले समयमा न्याय परिषद्को बैठक बस्न नसक्दा न्यायाधीश नियुक्ति प्रक्रियामा ढिलाइ भएको बताए। प्रधानन्यायाधीश कार्कीले न्यायाधीश नियुक्ति प्रक्रियामा ढिलाइ हुँदा मुद्दा फछ्र्योटमा कठिनाइ भएकाले जतिसक्दो छिटो परिषद्को बैठक राख्ने तयारी गरिरहेको बताए।
सर्वोच्च अदालतमा सात तथा उच्च अदालतमा ६० न्यायाधीशको पद खाँली हुन लागेको उल्लेख गर्दै उनले भने, “संवैधानिक व्यवस्थाअनुसार, एक महीना अगाडि नै सिफारिश हुनुपर्ने हो, तर न्याय परिषद्को बैठक बस्न नसक्दा ढिलाइ भएको छ।”