मेयर जोशीले लगाए विद्यालयमा हुने राजनीतिक गतिविधिमा रोक - Chaitanya News
  • 2026-11-16
  • 16:33:40
  • सोमबार,मंसिर ०१, २०८३
  • मेयर जोशीले लगाए विद्यालयमा हुने राजनीतिक गतिविधिमा रोक

    मेयर जोशीले लगाए विद्यालयमा हुने राजनीतिक गतिविधिमा रोक

    काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको परशुराम नगरपालिकाले विद्यालयमा हुने राजनीतिक गतिविधिमा रोक लगाएको छ।

    शुक्रबार परशुराम नगरपालिकाको १३ औं नगर सभाबाट मेयर भरत बडायर जोशीले विद्यालयमा हुने राजनीतिक गतिविधिमा रोक लगाएका हुन्।

    परशुराम नगरपालिकाभित्रका सरकारी एवंम् सामुदायिक विद्यालयहरुमा कुनै पनि प्रकारका राजनीतिक क्रियाकलाप हुन नदिने जोशीले बताए।

    उनका अनुसार बन्द, हड्ताल तथा शैक्षिक गतिविधिमा अवरोध गर्ने खालका क्रियाकलापमा रोक लगाइएको छ। यस्तै राजनीतिक दलका भ्रातृसंस्था गठनका गतिविधि निषेध गरिएको मेयर जोशीले बताए।

    ‘सार्वजनिक शिक्षालाई राजनीतिक प्रभावमुक्त, स्वच्छ, नियमित, गुणस्तरीय बनाउँदै विद्यालय शान्ति क्षेत्रको अवधारणालाई मूर्तरूप दिइने छ,’ उनी भन्छन्।

    शिक्षक तथा विद्यालय कर्मचारीहरुले कुनै पनि राजनीतिक दलको सदस्यता लिन नपाइने नीति कडाइका साथ अवलम्बन गरिने पनि मेयर जोशीले बताए।

    ‘अब कार्यान्वयन चरणमा गएका छौँ। पूर्ण इमान्दारिताका साथ काम गर्ने छौं,’ उनले भने।