धनगढी- चैतन्य पाठशाला धनगढीले आफ्ना शिक्षकहरूका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ। शनिबार शिक्षा क्षेत्रका विज्ञहरूको उपस्थितिमा चैतन्यले शिक्षकहरूलाई प्रशिक्षण दिएको हो।
कार्यक्रममा समसामयिक शिक्षकका समस्या, कर्तव्य र अधिकारका साथै कसरी विद्यार्थीहरूलाई नवीन ढंगले अध्यापन गराउने भन्ने विषयमा छलफल भएको थियो। आफूहरूले संस्काररहितको शिक्षा प्रदानमा जोड् दिइरहेको बताउँदै विद्यालयका अध्यक्ष गणेश प्रसाद जोशीले प्रशिक्षणपछि शिक्षकको क्षमता विकासमा टेवा पुग्ने बताए।
‘हामीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु छ। त्यसका लागि सुविधासम्पन्न भवनसमेत निर्माण गरिरहेका छौं। पर्याप्त शैक्षिक सामग्रीको उपलब्धतामा हाम्रो जोड् छ। त्यत्तिलेमात्रै पुग्दैन। विद्यार्थीहरूलाई समय सापेक्ष शिक्षा प्रदान गर्नुपर्छ। त्यसैका लागि हामीले चैतन्यका शिक्षकहरूलाई प्रशिक्षित गर्न खोजेका हौं’, उनले भने।
प्रा. डा. हेमराज पन्तलगायत प्रशिक्षकहरूले प्रशिक्षण प्रदान गरेका छन्। प्रशिक्षण कार्यक्रममा बोल्दै प्रा. डा. पन्तले हामीले जस्तो शिक्षा दियौं विद्यार्थीले त्यस्तै शिक्षा ग्रहण गर्ने भएकाले हामीले कस्तो ज्ञान प्रदान गर्यौ भन्ने कुरा महत्त्वपूर्ण हुने बताए।
‘विद्यार्थी काँचो माटो जस्तै हुन्। उनीहरू त हामीले जे दियौं त्यही शिक्षा ग्रहण गर्छन्। त्यसैले हामीले समय सापेक्ष आफूलाई परिवर्तन गर्दै नवीन प्रविधिको विकास सँगै नवीन ढंगबाट पढाउनुपर्छ’, उनले भने।
![]()