कर्मचारीमाथि अभद्र व्यवहार गर्ने दोषीलाई कारबाही गर्न कर्मचारी युनियनको माग - Chaitanya News
  • 2026-11-18
  • 15:57:30
  • बुधबार,मंसिर ०३, २०८३
  • कर्मचारीमाथि अभद्र व्यवहार गर्ने दोषीलाई कारबाही गर्न कर्मचारी युनियनको माग

    कर्मचारीमाथि अभद्र व्यवहार गर्ने दोषीलाई कारबाही गर्न कर्मचारी युनियनको माग

    पाल्पा — पाल्पाको माथागढी गाउँपालिकामा बुधबार कर्मचारीमाथि अभद्र व्यवहार गर्ने दोषीलाई नेपाल निजामती कर्मचारी युनियन पाल्पाले कारबाहीको माग गरेको छ।

    युनियनका जिल्ला अध्यक्ष अध्यक्ष रवि अर्याल र सचिव चन्द्रबहादुर ओलीले विज्ञप्तिमार्फत् जनताको सेवामा खटिई इमान्दारितापूर्वक कार्यसम्पादनमा लागि परेका राष्ट्रसेवक कर्मचारीमाथि कार्यस्थलमा भएको त्यस किसिमका अभद्र व्यवहारको निन्दा गरेका हुन्।

    विज्ञप्तिमा हातपातको प्रयास एवं अवाञ्छित गतिविधिको घोर निन्दा एवं भर्त्सना गरिएको छ। राष्ट्रसेवक कर्मचारी माथि भएको अमानवीय घटनामा संलग्न दोषीमाथि कारबाही नभए कर्मचारी युनियन पाल्पा सशक्त आन्दोलनमा जान बाध्य हुने विज्ञप्तिमा छ।

    समस्या समाधाका लागि नीतिगत एवं प्रणालीगत सुधारको पहल गर्नुपर्नेमा सरकारको नीति निर्देशन तथा कानुनको पालना गरी कार्यसम्पादन गरिरहेका कर्मचारीहरुमाथि अभद्र व्यवहार हुनु दुःखद भएको जनाइएको छ। लेखा प्रणाली सूत्रका कारण भुत्तानी प्रक्रिया पूरा नभएको विषयलाई लिएर जनप्रतिनिधिको संलग्नतामा यस्ता गतिविधि बन्द गरी कानुन हातमा लिने अराजक व्यक्ति तथा समुहलाई आवश्यक कानुनी कारबाहीका लागि माथागढी गाउँपालिका र सम्बन्धित सरोकारवालहरूसँग माग गरेका छन्।

    कार्यालयहरूमा भरपर्दो शान्ति सुरक्षाको व्यवस्था मिलाई राष्ट्रसेवक कर्मचारीले भयरहित तवरले कार्यसम्पादन गर्न सक्ने वातावरण सिर्जना गर्न जिल्लाका जिम्मेवार निकाय र नेपाल सरकारसमक्ष युनियनले माग गरेको छ।

    अध्यक्ष अर्यालका अनुसार गाउँपालिकाको लेखा शाखामा भुक्तानीका लागि ढिला तथा खाता बन्दीको अन्तिम समयमा प्राप्त भएका केही भुक्तानी लेखा प्रणालीमा इन्ट्री गरेता पनि प्राविधिक कारण भुक्तानी प्रक्रिया पुरा हुन नसकेको अवस्थामा यसरी कार्यकक्ष मै थुनछेक गर्ने गालीगलौज, अपशब्द, अभद्र व्यवहार, भौतिक आक्रमण गर्ने प्रयास एवं ज्यान मार्ने धम्की दिनु अमर्यादित भएको बताए। युनियनले प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई समेत कर्मचारीको सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।