काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेक खै भनेर प्रश्न गरेका छन। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले कार्यसूचीमा मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक नल्याएकोमा आपत्ति जनाएका छन्। यस्तै उनले अर्को बैठकमा विधेयक सदनमा प्रस्तुत नभए रास्वपाले संसद् सञ्चालन हुन नदिने चेतावनी पनि दिए।
उनले भने ‘यसअघिको बैठकमा कार्यसूचीमै थियो। हामीले प्रतिस्थापन विधेयकमार्फत त्यसलाई अघि बढाउने प्रतिबद्धतासमेत जनाएका थियौं। तर आजको कार्यसूचीमा यो किन आएन?
उनले सरकारले प्रतिपक्षी दलहरू मिटरब्याजसम्बन्धी विधेयकको विपक्षमा रहेको भ्रम छरेर सरकारले नै मिटरब्याजसम्बन्धी विधेयक अघि बढाउन नचाहेको भए त्यो दुःखद् हुने बताए। ‘मिटरब्याजसम्बन्धी विधेयक आजको कार्यसूचीमा यो किन आएन? यो कसका कारणले रोकियो? सरकारले सदनलाई यसबारे जानकारी दिनुपर्छ,’ उनले भने, ‘रास्वपा मिटरब्याजबाट पीडित सम्पूर्ण नागरिकहरूको पक्षमा छ। मिटरब्याजको पीडाबाट जसरी नागरिकहरू जीवन मरणको दोसाँधमा छन्। हामी यसलाई फास्ट ट्रयाकबाट पास गराउन प्रतिबद्ध छौं।