आर्थिक वर्षमा ९ सय मेगावाट बराबरको बिजुली थप हुन्छ : ऊर्जामन्त्री बस्नेत - Chaitanya News
  • 2026-05-26
  • 06:20:46
  • मंगलबार,जेठ १२, २०८३
  • आर्थिक वर्षमा ९ सय मेगावाट बराबरको बिजुली थप हुन्छ : ऊर्जामन्त्री बस्नेत

    आर्थिक वर्षमा ९ सय मेगावाट बराबरको बिजुली थप हुन्छ : ऊर्जामन्त्री बस्नेत

    काठमाडौं– सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा थप नौ सय मेगावाट बराबरको बिजुली थप हुने बताएका छन्। उनले राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेको प्रश्नको जवाफ दिँदै उनले आन्तरिक खपत बढाउने नै सरकारको सोच रहेको र बढी भएको बिजुलीमात्रै विदेशमा निर्यात गरिने बताए।

    हाल प्रणालीमा दुई हजार मेगावाट बराबरको बिजुली जोडिएको जानकारी दिँदै उनले ऊर्जा विकास दशकको मार्गचित्रका साथ काम गरिरहेको बताए। आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारतलाई निर्यात गर्ने र त्यसका लागि कुल २० हजार मेगावाट बराबरको आयोजना निर्माणको प्रक्रिया अगाडि बढाइने सदनलाई जानकारी गराए।

    उनले केही ठूला जलाशयुक्त आयोजना अगाडि बढाउने सोचका साथ सरकारले प्रक्रिया अगाडि बढाएको स्पष्ट पार्दै तल्लो अरुण आयोजनाका सन्दर्भमा धेरै पहिलेदेखि नै प्रक्रिया अगाडि बढेको बताए । सांसदहरूले सो आयोजना भारतीय कम्पनीलाई किन दिइएको हो भनेर प्रश्न उठाएका थिए।

    मन्त्री बस्नेतले कृषि उपजको उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ सिँचाइका आयोजनालाई पनि सरकारले प्राथमिकता दिएको बताए। कर्णाली प्रदेशमा सिँचाइ सुविधा पुर्याउनका लागि एकीकृत कर्णाली सिँचाइ परियोजना अगाडि बढाइएको र आगामी आवका लागि रु ३० करोड बराबरको बजेट विनियोजन भएको जानकारी दिए ।