काठमाडौँ — गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका लागि सरकारको अभियानले नरोकीने बताएका छन्।
बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। यस्तै उनले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रबिन्दुमा राखेर काम अगाडि बढाइरहेको पनि बताए।
उनले देशको समृद्धिको लक्ष्य हासिल गर्ने पूर्वसर्त सुशासन भएको भन्दै सरकारको अभियानले विश्राम नलिने बताएका थिए। तर निर्दोष नफसुन् र दोषी नछुटुन्ु भन्ने मान्यता अख्तियार गरिएको उनले बताए।
‘सरकार प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाउन, टुंगोमा पुर्याउन दृढ छ। सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रबिन्दुमा राखेर हामी अगाडी बढाइराखेका छौं। र सुशासनको सन्दर्भमा सम्पूर्ण देशले र यो सदनका सम्पूर्ण माननीयज्यूहरुले पनि जुन प्रकारको समर्थन व्यक्त गर्नुभएको छ, त्यसको म उच्च मूल्यांकन गर्न चाहान्छु र हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यसले विश्राम लिने छैन। हामी देशको समृद्धिको लक्ष्य हासिल गर्न सुशासन एक प्रकारको पूर्वसर्त हुन गएको कुरालाई आत्मसात गरेका छौं। त्यस अन्तर्गत हामी अझ पनि अगाडि बढ्छौँ। निर्दोष कुनै पनि हालतमा नफसुन्। दोषी, अपराधी कुनै पनि हालतमा नछुटुन् भन्ने मान्यता हामीले अख्तियार गरेका छौं गृहमन्त्री श्रेष्ठले भने।
श्रेष्ठले गृह मन्त्रालय सम्हालेपछि ठूला भ्रष्टाचारका घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने काममा नेपाल प्रहरीले सक्रियता बढाएको छ। यसबीचमा नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरणमा संलग्न उच्चपदस्थ अधिकारीहरू पनि पक्राउ परिसकेका छन्।