ठूलो समस्याका रुपमा रहेको बेरुजु कम गर्न अर्थ मन्त्रालय जागरुक भएर लागेको छ : अर्थमन्त्री महत - Chaitanya News
  • 2026-05-26
  • 06:22:18
  • मंगलबार,जेठ १२, २०८३
  • ठूलो समस्याका रुपमा रहेको बेरुजु कम गर्न अर्थ मन्त्रालय जागरुक भएर लागेको छ : अर्थमन्त्री महत

    ठूलो समस्याका रुपमा रहेको बेरुजु कम गर्न अर्थ मन्त्रालय जागरुक भएर लागेको छ : अर्थमन्त्री महत

    काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक अराजकता नियन्त्रणमा पूर्ण रुपमा प्रतिबद्ध भएको बताएका छन। उनले राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका ह्न। यस्तै उनले ठूलो समस्याका रुपमा रहेको बेरुजु कम गर्नका लागि अर्थ मन्त्रालय जागरुक भएर लागेको पनि बताएका छन्।

    कतिपय करदाता अदालत गएको निर्णयमा अनियमित भएका कारणले बेरुजु देखिएको उल्लेख गर्दै उनले समग्रमा आर्थिक अनुशासन कायम राख्ने र थप बढ्न नदिनेमा प्रतिबद्धता व्यक्त गरे।

    विभिन्न स्वरुपमा बेरुजु रहने भएकाले त्यो सबै दुरुपयोग भयो भन्नु गलत रहेको बताए। आर्थिक अराजकता नियन्त्रणका लागि आफू पूर्ण रुपमा लागिपरेको उनको भनाइ छ।

    मुलुकभित्र अत्यावश्यक कामका लागि आवश्यक रकम जोहो गर्न तथा अत्यावश्यक कामका लागि खर्च गर्नका लागि आकस्मिक कोषमा रकम राखिएको उनले जानकारी दिए। विविध शीर्षकमा बढी बजेट राखिएको भन्ने सांसदहरुको जिज्ञासाको जवाफमा मन्त्री डा। महतले अत्यावश्यक समस्यामा खर्च गर्ने रकमको जोहोका लागि विविध शीर्षकमा बजेट राखिएको बताए।

    बजेट छर्ने प्रवृत्तिलाई रोक्न खोज्दाखोज्दै पनि तत्काल नसकिएको अर्थमन्त्रीले जानकारी दिए। बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि भनेर पेट्रोलियम पदार्थमार्फत उठाइएको रकम मुआब्जा वितरणका लागि खर्च भएको उनले बताए। मन्त्री डा.महतले सो आयोजना निर्माणका लागि कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढेको भनाइ राखे।

    मुलुकका आइपर्ने अत्यावश्यक कामका लागि खर्च गर्नका लागि विविध शीर्षकमा रकम राख्नैपर्ने उल्लेख गर्दै उनले प्राकृतिक विपद्लगायतका कामका लागि अनावश्यक खर्च निषेध गर्ने र अनुशासन कायम गर्न आफू पूर्णरुपमा प्रतिबद्ध रहेको स्पष्ट पारे।