कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष बजेट बहुमतले पारित - Chaitanya News
  • 2026-11-14
  • 21:21:39
  • शनिबार,कार्तिक २९, २०८३
  • कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष बजेट बहुमतले पारित

    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष बजेट बहुमतले पारित

    काठमाडौं– कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०– ८१ को बजेट बहुमतले पारित भएको छ।

    असार १७ गतेदेखि प्रदेश सरकारका मन्त्रालय तथा निकायगत शीर्षकमाथिको छलफल सकिएपछि मुख्यमन्त्री राजकुमार शर्माले आफ्ना धारणासहित प्रदेश सभाको दोस्रो अधिवेशनअन्तर्गत मंगलवार बसेको २५औं बैठकमा प्रदेश सदस्यले उठाएका प्रश्न एवं जिज्ञासाको जवाफ दिए।

    मुख्यमन्त्री शर्माले जवाफ दिएलगत्तै सभामुख नन्दा गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहलाई ‘कर्णाली प्रदेश विनियोजन विधेयक २०८०’ र ‘कर्णाली प्रदेश आर्थिक विधेयक २०८०’ पारितका लागि सभामा प्रस्ताव गर्न समय दिए।

    मन्त्री सिंहले कर्णाली प्रदेशसभा नियमावली २०७० को नियम १४० को उपनियम १२ र नियम १४७ को उपनियम ५ बमोजिम दुवै विधेयक पारितका लागि सभामा प्रस्ताव राखे।

    प्रस्तावपछि सभाबाट बजेट बहुमतले पारित भएको सभामुख गुरुङले घोषणा गरे। कर्णाली प्रदेश सरकारले आगामी आव २०८०–८१ का लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँ बजेट ल्याएको छ।