काठमाडौँ उपत्यकालाई व्यवस्थित बनाउन सरकारले गुरु योजना बनाइरहेको छ : मन्त्री गुरुङ - Chaitanya News
  • 2026-11-16
  • 15:44:01
  • सोमबार,मंसिर ०१, २०८३
  • काठमाडौँ उपत्यकालाई व्यवस्थित बनाउन सरकारले गुरु योजना बनाइरहेको छ : मन्त्री गुरुङ

    काठमाडौँ उपत्यकालाई व्यवस्थित बनाउन सरकारले गुरु योजना बनाइरहेको छ : मन्त्री गुरुङ

    काठमाडौँ– सहरी विकासमन्त्री सीता गुरुङले काठमाडौँ उपत्यकालाई व्यवस्थित बनाउन सरकारले काठमाडौँ उपत्यका गुरु योजना बनाइरहेको बताएकी छन्।

    मंगलबार जिल्ला समन्वय समिति ललितपुरको सातौँ जिल्ला सभामा मन्त्री गुरुङले काठमाडौँ उपत्यका घरै–घरको मात्रै सहर भएको बताइन्। उनले राज्यको स्पष्ट सहरको स्वरुप बनाउने नीति बनाएर कार्यान्वयन हुन नसक्दा काठमाडौँ उपत्यकामा घरै मात्रै भएको बताए।

    मन्त्री गुरुङले काठमाडौँ उपत्यकामा ठूलो सहर नभएको, गाडी पार्किङ गर्ने ठाउँ अभाव, खानेपानी, साना–साना पार्क र फुटपाथ केही पनि नभएर धेरै घरहरु भएको सहरका रुपमा स्थापित भएको बताइन्। उनले यसरी बनेका घरहरु राज्यले सहर व्यवस्थित बनाउने भनेर मात्रै पनि भत्काउन सक्ने अवस्था नभएको बताइन्।

    मन्त्री गुरुङले सरकारले बनाएको गुरु योजनाले सहरलाई थप व्यवस्थित र भएका बेथिति हटाउन सकिने बताइन्। उनले काठमाडौँ उपत्यकाबाट बग्ने बागमती नदी र त्यसका सहायक नदीहरुको सरसफाइ र त्योसँग जोडिएका मठ मन्दिर पुरातात्विक सांस्कृतिक वस्तुहरुलाई संरक्षण गरी पर्यटन विकास गर्नेगरी सरकार लागि रहेको बताइन्।

    मन्त्री गुरुङले खोला किनारका अव्यवस्थित र सुकुम्वासी स्थानीय सरकार,जिल्ला समन्वय र सांसदहरुको सहयोग आवश्यक पर्ने बताइन्। उनले सहरको फोहोरमैला व्यवस्थापन स्थानीय सरकारको मातहत रहेको भन्दै सहरहरूमा अहिले जटिल समस्या भनेको फोहोरमैला व्यवस्थापन भएको बताइन्। उनले ललितपुर जिल्ला भित्रका स्थानीय तहहरुले छुट्टै आफ्नै फोहोर व्यवस्थापन गर्न सक्नुपर्ने बताइन्।