लामो समयका लागि प्रधानमन्त्री बन्नेमा विश्वास छैन : प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-11-16
  • 15:09:07
  • सोमबार,मंसिर ०१, २०८३
  • लामो समयका लागि प्रधानमन्त्री बन्नेमा विश्वास छैन : प्रधानमन्त्री प्रचण्ड

    लामो समयका लागि प्रधानमन्त्री बन्नेमा विश्वास छैन : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू लामो समयका लागि प्रधानमन्त्री बन्नेमा विश्वास नरहेको बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै प्रधानमन्त्री दाहालले आफू अब लामो समय प्रधानमन्त्री हुन्छु भन्ने विश्वास नरहेको बताए।

    ‘म पहिल्यै दुई पटक प्रधानमन्त्री भइसकेको हुँ, तर परिस्थितिवश मलाई प्रधानमन्त्री बन्नुपर्ने परिस्थिति आइलाग्यो। म तेस्रो पटक प्रधानमन्त्री हुँदा मलाई जनतालाई केही भन्नु छ, के गर्नु छ भनेर भनेको थिएँ, त्यही अनुसार गर्दै आएको हुँ,’ उनले भने, ‘मलाई थाहा छ, म सधैँको लागि प्रधानमन्त्री भएको होइन, अहिले पनि मलाई लामो समय प्रधानमन्त्री हुन्छु भन्ने लागेको छैन। तर जति समय हुन्छु, यो पटक म जनताको पक्षमा काम गरेर देखाउँछु भन्ने ठानेको छु। त्यही गर्दैछु।

    प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितहरूको सम्बन्धमा आफू स्वयम् र अहिलेको सरकार गम्भीर रहेको बताए।

    ‘मिटर ब्याजपीडितहरूको आन्दोलन लामो समयसम्म किन चल्यो? भनेर सत्ता गठबन्धनमै मैले प्रश्न गरेको थिएँ। यो विषयमा म र सरकार गम्भीर छौं। अहिले प्रतिपक्ष दलहरूले पनि यति प्रतिबद्धता देखाइसकेपछि मिटरब्याज सम्बन्धी कानुन संसद्‍बाट पास हुन्छ भन्नेमा म ढुक्क भएको छु,’ उनले भने।