ललितानिवास  प्रकरण:  पूर्वमन्त्री र सचिवहरू सिआइबीको निसानामा  - Chaitanya News
  • 2026-11-18
  • 14:25:37
  • बुधबार,मंसिर ०३, २०८३
  • ललितानिवास  प्रकरण:  पूर्वमन्त्री र सचिवहरू सिआइबीको निसानामा 

    ललितानिवास  प्रकरण:  पूर्वमन्त्री र सचिवहरू सिआइबीको निसानामा 

    काठमाडौं – ललितानिवास जग्गा प्रकरणमा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धानको निसाना पूर्वमन्त्री र सचिवहरूतिर लगाएको छ।

    पूर्वउपप्रधानमन्त्री विजय गच्छदार, पूर्वभूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी, पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारीलाई पक्राउ गर्ने तयारीमा ब्युरो लागेको हो। बस्नेत नेपालमा नभएको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले आइतबार अपराह्न बहालवाला सचिव राउतलाई भारत जान लागेको भन्दै नियन्त्रणमा लिएको हो।

    बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते गरी व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री, सचिवसहित १७५ जनाविरुद्ध २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। त्यसबाहेक ब्युरोले ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरी संगठित अपराधमा अनुसन्धान गरिरहेको छ।

    बालुवाटार जग्गा हिनामिना प्रकरणमा अख्तियारले अभियुक्त बनाएकाहरूमा पूर्वउपप्रधानमन्त्री गच्छदार, पूर्वमन्त्रीहरू श्रेष्ठ, जोशी तथा पूर्वसचिवहरू पन्त, बस्न्यात र अधिकारी पक्राउ परेका छैनन्। उनीहरूलाई पनि ब्युरोले पक्राउ गर्ने तयारी गरेको छ।

    ब्युरो प्रमुख एआइजी किरण बज्राचार्यले पक्राउ पुर्जी जारी भएका सबैलाई अनुसन्धानको दायरामा ल्याउने बताइन्। ‘सरकारी जग्गा हिनामिना गरेको आरोप जस–जसलाई छ, प्रमाणले जस–जसलाई अनुसन्धान गर्न भनेको छ, त्यही आधारमा पक्राउ गरी अनुसन्धान गरिनेछ’, उनले भनिन्।

    ब्युरोले आइतबार यो प्रकरणमा समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुव अर्याललाई पनि पक्राउ गरेको छ।

    यता उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्दोष व्यक्तिले डराउनुपर्ने कारण नरहेको स्पष्ट पारेका छन् । आइतबार राति सामाजिक सञ्जालमार्फत उनले निर्दोष कोही तर्सनु नपर्ने बताएका हुन् ।

    नक्कली शरणार्थी प्रकरण तथा ललिता निवासको जग्गा हिनामिनामा संलग्नविरुद्ध कारबाही प्रक्रिया अघि बढिरहेका बेला गृहमन्त्री श्रेष्ठले दोषीलाई भने छुट नहुने दोहोर्‍याएका छन् ।