काठमाडौं– सत्ता साझेदार जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले संसद अवरोध गर्ने एमालेको कामले कसैलाई फाइदा नहुने बताएका छन। संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ सम्बोधन गर्न दिनुपर्ने बताए।
प्रधानमन्त्रीलाई सम्बोधन गर्न समेत नदिएर संसद अवरुद्ध गर्ने एमालेको कामले कसैलाई पनि फाइदा नपुग्ने उनले बताए। आइतबार सञ्चारकर्मीसंग कुराकानी गर्दै प्रमुख सचेतक यादवले एमालेले निरन्तर संसद अवरुद्ध गरेर मुलुक झनै संकटमा फस्दै जाने अवस्था आएको बताए।
उनले भने, ‘मुलुकलाई बन्धक बनाएर देशको अर्थतन्त्र धराशायी भएको बेलामा यसरी संसदलाई अवरुद्ध पारेर अहिले मुलुकले निकास पाउँदैन। झन् मुलुक संकटमा फस्दै जान्छ। त्यस कारण यो संसद अवरुद्ध गरेर समस्याको समाधान हुँदैन। संसदमा बहस गरेर समस्या समाधान हुन्छ।
उनले संसद अवरुद्ध गरेर एमालेले सिंगो मुलुकलाई नै घाटामा पार्ने काम गर्न नहुने बताए। प्रमुख सचेतक यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले सबैलाई चित्त बुझाउने गरी संसदमा आफ्नो विवादास्पद अभिव्यक्तिबारे जवाफ दिने भएकाले एमालेले त्यसमा अवरोध गर्न नमिल्ने बताए।