संसदलाई कांग्रेस, एमाले र नेकपा माओवादीले आफ्नो सिन्डिकेट बनाउन खोजे : रवि लामिछाने - Chaitanya News
  • 2026-11-16
  • 14:51:44
  • सोमबार,मंसिर ०१, २०८३
  • संसदलाई कांग्रेस, एमाले र नेकपा माओवादीले आफ्नो सिन्डिकेट बनाउन खोजे : रवि लामिछाने

    संसदलाई कांग्रेस, एमाले र नेकपा माओवादीले आफ्नो सिन्डिकेट बनाउन खोजे : रवि लामिछाने

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई प्रमुख तीन राजनीतिक दलहरूले आफ्नो सिन्डिकेट बनाउन खोजेको बताएका छन्। आज (आइतबार) नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले संसदलाई कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) का सांसदहरूले आफ्नो सिन्डिकेट बनाउन खोजेको आरोप लगाएका हुन्।

    उनले तीन राजनीतिक दलहरूका बीचमा सल्लाह मिल्दा संसद चल्ने र सल्लाह नमिल्दा संसद नचल्ने भएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले दलहरूले पटक–पटक यस्तो गरेको भन्दै अब आफूहरूले नसहने बताए। उनले आपसमा सल्लाह नगरी जुन कुनै मुद्दा संसदमा लिएर आउन आग्रह गरे।

    उनले भने, ‘सदन तीन नेताको होइन। सदन प्रतिपक्षको हो अझ बढी। सार्वभौम जनताले चुनेर पठाएका जनप्रतिनिधिले जनताका कयौँ सवालमा कुराकानी गर्नुपर्नेछ। उहाँहरूको सल्लाह मिल्यो भने संसद चल्ने भयो। नमिल्दाखेरी संसद नचल्ने भयो। संसदमा स्वतन्त्र रूपमा जितेर आउनुभएको मान्यज्यूको पनि उत्तिकै भूमिका रहन्छ। संसदलाई संसदजस्तो बनाउनुपर्छ। सरकार अथवा ठूला दलहरू बीचको भागबन्डाको विषय नै होइन संसद। प्रमुख तीन दलले संसदलाई आफ्नो सिन्डिकेट बनाउन खोजेको देखियो।

    उनले अब आफूहरू चुपचाप नबस्नेसमेत बताए। उनले भने, ‘पहिलो पटक भएको छैन यस अगाडी पनि भएको थियो। त्यतिखेर पनि हामी चुपचाप बस्यौँ। ठिकै छ भनिरह्यौँ। तर यो गर्न पाइँदैन। यो गलत हो। संसदको मर्यादालाई, संसदको गरिमालाई जोगाउनुपर्ने हुन्छ। जनप्रतिनिधिहरू त्यहाँ आम नागरिकको मुद्दा बोकेर आएका हुन्छन्। सरकारले एक त बिजनेस नै दिन सकिरहेको छैन। सरसल्लाहमा बसेर अनुमति लिएर मात्रै गर्ने भन्ने? जे मुद्दा छ संसदमा लिएर आउने। संसदमा कुरा गरौँ।’