काठमाडौं– नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पटकपटक सदन अवरोध गरेर एमालेले नयाँ रेकर्ड कायम गर्न खोजेको आरोप लगाएका छन। सानासाना कुरालाई लिएर सदन अवरुद्ध गर्ने काम सधैका लागि बन्द गर्नुपर्ने उनले बताए। आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै दाहालले सदन अवरुद्ध गर्दा नीति नियम बनाउने काम नै अवरुद्ध भएको भन्दै साना साना कुरालाई लिएर सदन अवरुद्ध गर्ने काम सधैका लागि बन्द गर्नुपर्ने बताएका हुन्।
उनले एमाले सकारात्मक भए मिटरव्याजसम्बन्धी कानुन छिटै अघि बढ्ने जिकिर गरे। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसद अवरुद्ध गर्दै आएको छ। एमालले प्रधानमन्त्रीको राजीनामा माग गरेको छ।
संसदको अवरोध हटाउन आज बिहान तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहाल,नेकपा एमाले अध्यक्ष केपी ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो। उनीहरूबीच संसद्को गतिरोध हटाउन सहमति भएको भनिएपनि एमालेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने बताएको छ।
आजै एमाले अध्यक्ष ओलीले बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसदमा अवरोध नहट्ने बताएका छन्।