नेपाली विषयमा भ्याली भ्यु स्कुलका ४८ विद्यार्थीले एसईईमा ल्याए जीपीए चार - Chaitanya News
  • 2026-05-02
  • 17:24:23
  • शनिबार,बैशाख १९, २०८३
  • नेपाली विषयमा भ्याली भ्यु स्कुलका ४८ विद्यार्थीले एसईईमा ल्याए जीपीए चार

    नेपाली विषयमा भ्याली भ्यु स्कुलका ४८ विद्यार्थीले एसईईमा ल्याए जीपीए चार

    काठमाडौं- निजी विद्यालयमा नेपाली विषयको नतिजा कमजोर हुन्छ भन्ने सुनिँदै आएको कुरा हो। कतिपय सन्दर्भमा यो आरोप जायज पनि हुन सक्ला। तर, एसईई परीक्षा–२०७९ मा उत्कृष्ट नतिजा कायम गर्न सफल काठमाडौंको एउटा संस्थागत विद्यालयको नेपाली विषयको नतिजाले यतिखेर सबैलाई चकित तुल्याएको छ।

    मध्य–बानेश्वरमा रहेको भ्याली भ्यु स्कुलका ४८ जना विद्यार्थीले नेपाली विषयमा जीपीए ४.० ल्याएर मिहिनेत गरे के सम्भव हुँदैन भन्ने कुरा प्रमाणित गरिदिएका छन्। एसईईमा कुनै विषयमा जीपीए ४.० ल्याउनका लागि कुल ९० देखि १०० अङ्क प्राप्त गरेको हुनुपर्ने प्रावधान रहेको छ। यसअनुसार भ्याली भ्यु स्कुलका ४८ जना विद्यार्थीहरूले नेपाली विषयमा उच्च नतिजा प्राप्त गरेर ऐतिहासिक सफलता प्राप्त गरेका छन्। सम्भवत: नेपाली विषयमा एउटै विद्यालयबाट धेरै विद्यार्थीले जीपीए ४.० ल्याएको यो शैक्षिक इतिहासकै उत्कृष्ट नतिजा हुन सक्छ।

    भ्याली भ्यु स्कुलबाट १३८ जना परीक्षार्थी एसईई परीक्षामा सम्मिलित भएकामा समग्रमा उत्कृष्ट ग्रेडसहित सतप्रतिशत विद्यार्थीहरू सफल भएका छन्। सबैमध्ये छात्रा स्मृति न्यौपानेले जीपीए ४.० ल्याउन सफल भइन्। यसै गरी १८ जना विद्यार्थीले जीपीए ३.९० देखि ४.० प्राप्त गरेका छन्। जीपीए ३.६५ देखि ४.० ल्याउने विद्यार्थीको सङ्ख्या ६६ रहेको छ भने जीपीए ३.२५ देखि ३.६० ल्याउने ६५ जना रहेका छन्। साथै, जीपीए २.३५ देखि ३.२० प्राप्त गर्ने ७ जना विद्यार्थी रहेको विद्यालयले जनाएको छ।

    स्कुलले अपेक्षित उत्कृष्ट नतिजा ल्याएकोमा प्राचार्य सुभाषचन्द्र भण्डारीले यस सफलताका लागि अनवरत साथ, सहयोग दिँदै आएका समस्त अभिभावकवर्ग, विषयविज्ञ मिहिनेती शिक्षक, कर्मचारी तथा सम्पूर्ण सञ्चालकहरूप्रति आभार प्रकट गर्दै परीक्षामा सफल भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। भ्याली भ्यु स्कुलले हरेक वर्ष एसईईमा उत्कृष्ट नतिजा ल्याउँदै आएको छ।