कास्की — गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ। प्रदेशसभाको शुक्रबार बसेको बैठकले बजेट पारित गरेको हो। चालु आर्थिक वर्षको भन्दा २ अर्ब ४८ करोड १८ लाखले घटाउँदै सरकारले असार १ गते ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो।
कुल बजेटमध्ये चालुगततर्फ १२ अर्ब ७३ करोड ६७ लाख ३८ हजार अर्थात् ३८.१ प्रतिशत र पुँजीगततर्फ २० अर्ब १९ करोड ४ लाख ६२ हजार अर्थात् ६०.४ प्रतिशत ल्याइएको थियो।
बैठकमा सांसदले बजेटमाथि छलफलमा भाग लिएका थिए। प्रतिपक्ष सांसदले बजेटको आलोचना गरेका थिए भने सत्तापक्षका सांसदले बचाउ गरेका थिए। सरकारले ल्याएको गण्डकीको आगामी वर्षको बजेटमा आर्थिक वर्ष २०७५–७६ देखिका क्रमागत योजनालाई निरन्तरता दिइएको छ। बजेटमा भौतिक पूर्वाधार मन्त्रालयका (सडक) योजना ३० लाखभन्दा तल र खानेपानी र सिँचाइमा १० लाखभन्दा साना योजना समेटिएको थिएन।