कक्षा ११ को छात्रवृत्तिको विवरण बुझाउन निजी शिक्षण संस्थालाई काठमाडौं महानगरको निर्देशन - Chaitanya News
  • 2026-07-16
  • 06:57:38
  • बिहिबार,आषाढ ३२, २०८३
  • कक्षा ११ को छात्रवृत्तिको विवरण बुझाउन निजी शिक्षण संस्थालाई काठमाडौं महानगरको निर्देशन

    कक्षा ११ को छात्रवृत्तिको विवरण बुझाउन निजी शिक्षण संस्थालाई काठमाडौं महानगरको निर्देशन

    काठमाडौं- कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गरेर त्यसको विवरण बुझाउन काठमाडौं महानगरपालिकाले निजी शिक्षण संस्थालाई निर्देशन दिएको छ।

    कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरूलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएकोले सम्बन्धित शिक्षण संस्थालाई निर्देशन दिइएको काठमाडौं महानगरले एक सूचना जारी गर्दै जनाएको छ।

    ‘यस प्रयोजनका लागि काठमाडौँ महानगरपालिकाअन्तर्गत सञ्चालित कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९/०८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको संख्या आषाढ मसान्तभित्र पठाउनुहुन सूचित गरिन्छ,’ महानगरले भनेको छ।

    क्यूआर स्क्यान गरेर महानगरपालिकाको वेब पेजको सूचना परिपत्र खण्डमा गएर पत्रमा क्लिक गरेपछि खुल्ने पेजको अन्तिममा देखिने फारममा विवरण भर्न महानगरले बताएको छ।

    यसैबीच काठमाडौं महानगरले माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक भएको मितिबाट कम्तीमा १५ दिनसम्म आवेदन दिनसक्ने गरी कक्षा ११ वा सो सरहका तहमा भर्ना कार्यक्रम तय गर्न सबै शिक्षण संस्थालाई निर्देशन दिएको छ।