धनगढी — गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको माग गर्दै निरन्तर आन्दोलन भइरहेको छ। बजेटमा प्रतिष्ठानका रुपमा राखेको विरोध र विश्वविद्यालय स्थापनाको माग गर्दै कैलालीमा डेढ महिनादेखि निरन्तर आन्दोलन भइरहेको छ।
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समिति गठन गरी चरणबद्ध आन्दोलनका क्रममा बिहीबार मेडिकल कलेज भवन प्रांगणबाहिर वैदिक परम्पराअनुसार पूजा र हवन पनि गरिएको छ।
विश्वविद्यालय विधेयक अविलम्ब पारित गरी गेटामा ६ सय शैय्याको अस्पताल सञ्चालन गर्न दबाब दिने उद्देश्यले आन्दोलन जारी रहेको संघर्ष समितिका संयोजक लोकराज पाण्डेयले बताए।
प्रधानमन्त्री पुष्पकमल दाहालले गेटामै पुगेर सुदूरपश्चिमलाई सरकारले विश्वविद्यालय उपहार दिएको घोषणा गरेका थिए तर प्रधानमन्त्रीको घोषणाविपरीत बजेटमा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा बजेट छुट्याएपछि स्थानीयले निरन्तर विश्वविद्यालयको माग गर्दै आन्दोलन गरिरहेका हुन्।
जेठ १६ गतेदेखि आन्दोलन सुरु भए पनि सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको आरोप आन्दोलनकारीको छ। संघर्ष समितिका संयोजक पाण्डेय ६ सय शैय्याको अस्पतालसहित विश्वविद्यालय स्थापना नहुँदासम्म आन्दोलन जारी रहने बताउँछन्।
पाण्डेयले भने, ‘कहिले मेडिकल कलेज, कहिले स्वास्थ्य विज्ञान प्रतिष्ठान त कहिले विश्वविद्यालय भन्दै सरकारले अन्योल सिर्जना गर्ने काम गरिरहेको छ। मेडिकल कलेजको घोषणा हुन २८ वर्षसम्म कुरेका सुदूरपश्चिमवासीले सरकारका घोषणामा विश्वास नरहेको पनिउनले बताए।