काठमाडौं– सिमोस सुनुवार फिल्म तथा टेलिभिजन कार्यक्रमका भर्सटाइल निर्देशक हुन् भन्ने कुरामा दुविधा छैन। उनी एक्सन जनराका फिल्म निर्देशनमा सुपरिचित छन्। सम्पादनदेखि भीएफएक्सजस्ता प्राविधिक कार्यमा त उनले अवार्ड पनि हात पारेका छन्। यसभन्दा भिन्न रुपमा लोकसंगीतसम्बन्धी टिभी कार्यक्रम हिमालय लोकस्टार सिजन २ को निर्देशन गरे।
लोकस्टारको दोस्रो श्रृंखलाले उनलाई अगल जनरामा समेत काम गर्न सक्ने भर्सटाइल निर्देशकको रुपमा स्थापित गर्यो। टिभी कार्यक्रमसँगै उनी फिल्म निर्देशनमा पनि सक्रिय छन्। उनले निर्देशन गर्ने फिल्म ‘हात्तीछाप’को छायांकन बिहीबारदेखि सुरु हुँदैछ। यस्तोमा उनी टिभी कार्यक्रम र फिचर फिल्म दुवैको ‘क्याप्टेन अफ द शिप’को भूमिका निर्वाह गरिरहेका छन्।
सोमबार काठमाडौंमा आयोजित हिमालय रोडिज सिजन पाँचको घोषणा कार्यक्रममा सिमोसले यस्तै प्रश्नको सामना गर्नुपर्यो। हिमालय लोकस्टार निर्देशन गरेको मान्छेले रोडिजजस्तो एड्भेन्चर रियालिटी शोलाई न्याय दिन सक्ला भन्दै पत्रकारले प्रश्न राखेका थिए। यसमा सिमोसको जवाफ थियो– ‘रोडिजको राम्रो निर्देशन मभन्दा अरु कोहीले गर्न सक्दैन।’
सिमोसको जवाफमै होस्ट सुरजसिंह ठकुरीले अझै प्रशंसा थपे। अलग जनराका फिल्म र टिभी कार्यक्रममा हात हालेर सिमोसले साहस गरेको र एउटै जनराको ट्यागबाट मुक्त हुन प्रयास गरेको बताए। ‘अवश्य पनि विगतको रोडिजभन्दा पाँचौं सिजन भव्य र नयाँ हुनेछ,’ उनले भने। पत्रकार सम्मेलनमा सार्वजनिक श्रव्यदृश्यमा पनि सिमोसले आफ्नो एक्सन कोरियोग्राफरको शैलीलाई मज्जाले पोत्ने प्रयास गरे।
हिमालय रोडिजको पाँचौ सिजन साउन ८ गतेदेखि प्रसारण हुँदैछ।