धनकुटा — दुई सातादेखि धनकुटा बजारका हरेक चोक र गल्लीमा दिनहुँजसो गिटार, पियानो र ड्रमसेटसँगै एकहुल युवाहरू सांगीतिक प्रस्तुती गर्दै गरेको अवस्थामा भेटिन्छन्।
सुरुमा उनीहरूको त्यो प्रस्तुतीलाई सामान्य ठान्नेहरूले जब वास्तविकता बुझ्छन् अनि गोजी कोट्याउँदै तँछाडमछाड गर्दै त्यहाँ राखिएको दान पेटिकामा गच्छेअनुसारको रकम खसाल्छन्।
२० वर्षको उमेरमै जटिल रोगबाट ग्रसित बनेकी साथीका लागि सहयोग जुटाउन उनीहरू यसबेला सांगीतिक यात्रामा निस्किएका हुन्। धनकुटा नगरपालिका ७ सित्तलपाटीकी बासिन्दा २० वर्षीया फरिन राई विराटनगरस्थित कोशी अस्पतालको शैय्यामा प्रतिरोधात्मक क्षमता ह्रास गर्ने जटिल प्रकारको रोग सिस्टमिक लुपुस एरथिेमाटोसुससँग विगत पाँच सातादेखि जुधिरहेकी छन्। सामान्य आर्थिक अवस्था भएका उनका बाबु वीरशुक्र राईले छोरीको उपचारका लागि आफूसँग रकम नभएको गुनासो गरेपछि फरिनका साथीहरू सांगीतिक अभियानमार्फत उनको उपचार खर्च जुटाइरहेका छन्।
स्नातक तह पहिलो वर्षमा अध्ययनरत फरिनलाई बचाउन भन्दै उपचार खर्च जुटाउन आफूहरू दिनरात नभनी जुटेको सांगीतिक प्रस्तुती कार्यक्रमका अगुवाइ गरिरहेका सञ्जय लिम्बू बताउँछन्। ‘फरिन बचाउ अभियान’ मार्फत दुई सातादेखि उनीहरू रकम संकलन गरिरहेका छन्।