काठमाडौं– राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेल्वासेले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेट बढाउनुपर्ने बताएकी छन। सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य बेल्वासेले आगामी दिनमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटमा वृद्धि गर्नुपर्ने बताइन्।
उनले सबै मन्त्रालयमा आफू मातहतका संस्थाहरू संरक्षण गर्ने गरी मात्रै बजेट आएको उनको भनाई छ। उनले मानव विकासका लागि बजेट विनियोजन हुनुपर्नेमा जोड दिइन्। त्यसै गरी देशलाई खेलाडीहरूले विश्वमाझ चिनाइरहेको भन्दै खेल क्षेत्रमा पनि लगानी गर्नुपर्ने बताइन्। राष्ट्रिय सभा सदस्य बेल्बासेले बनमा रहेका जडिबुटीलाई निकालेर प्रशोधन गरी विदेशी मुद्रा आर्जनको साधन बनाउनुपर्ने बताइन्।
उनले भनिन्, ‘काष्ठकलाको सिप पनि हराइराखेको छ। उत्पादन पनि हराइराखेको छ। काठ जंगलमा कुहिएर बसिराखेको छ। यसलाई हामीले कसरी उपभोग गर्न सक्छौँ? र देशलाई काठमा आत्मनिर्भर बनाउन सक्छौँ भन्ने कुरा वन मन्त्रीले सोच्नुपर्छ। वनभित्र रहेका जुडिबुटीलाई हामीले कसरी निकाल्न सक्छौँ? प्रशोधित गर्न सक्छौँ र विदेशी मुद्रा आर्जनको साधन बनाउन सक्छौँ भनेर सोच्नुपर्छ। सबै मन्त्रालयको बजेट हुलमुलमा जिउ जोगाउने, अनिकालमा बीउ जोगाउने भनेजस्तो संस्थाहरू संरक्षण गर्न मात्रै आएको छ। आफ्नै संस्थाहरूलाई खर्च विनियोजन गरेर आइराखेको छ। महिला मन्त्रालयको बजेट बढाउनुपर्यो। देशलाई खेलाडीहरूले चिनाइराखेका छन् तर खेल क्षेत्रमा लगानी गर्न सकेका छैनौँ। लगानी गर्नुपर्यो।’